Logo १५ भाद्र २०८३, सोमबार | Mon Aug 31 2026


रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या ९०० नाघ्यो, २६७ घाइते, ४२ सय बढी सम्पर्कविहीन (सूचीसहित)

१० हजार ४ सय ५१ जनाको उद्धार, उद्धार तथा राहतका लागि २० हजार बढी सुरक्षाकर्मी परिचालन

0
Shares

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा यहि भदाै १० गते बुधबार आएको भीषण बाढीमा परी ज्यान गुमाएको संख्या ९ सय जना नाघेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार बिहान ९ बजेसम्म ९ सय ३ जनाको शव फेला परेको जनाएको हाे। सबै भन्दा बढी शव चितवनमा भेटिएको छ। रसुवामा २४, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६२, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा २ सय ७, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा १ सय ५१, तनहुँमा ३७ र चितवनमा २ सय ७२ (विभिन्न मानव अंगसहित) शव फेला परेको प्राधिकरणले जानकारी दिएको छ।

प्राधिकरणले उक्त बाढीपश्चात् अझै ४ हजार २ सय ४७ जना सम्पर्कविहीन भएकाे जनाएकाे हाे। सम्पर्कविहीन हुनेमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, विभिन्न जलविद्युत आयोजना, भन्सार कार्यालयका कर्मचारी लगायत रहेका छन् ।सम्पर्कविहीन हुनेमा विदेशी नागरिक ५ सय ९२ जना छन् । विदेशी पर्यटकसँगै घुम्न गएका नेपाली नागरिक १ सय २७ जना पनि सम्पर्कविहीन रहेका प्राधिकरणले जनाएको हाे ।

बाढी प्रभावित क्षेत्रबाट हालसम्म १० हजार ४ सय ५१ जनाको उद्धार गरिएको छ । हालसम्म घाइतेको संख्या २ सय ६७ जना रहेकाे प्राधिकरणले जनाएकाे हाे । उनीहरूमध्ये १ सय ६५ जना उपचार पश्चात ‘डिस्चार्ज’ भइसकेका प्राधिकरणले जानकारी दिएको छ । उद्धार तथा राहतका निम्ति २० हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको हाे ।