Logo १५ भाद्र २०८३, सोमबार | Mon Aug 31 2026


राष्ट्रिय जेनजी अभियन्ताकाे टाेली राहत सामग्री बाेकेर रसुवामा


0
Shares

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका अभियन्ताहरू राहत सामग्री लिएर साेमबार बाढीबाट प्रभावित जिल्ला रसुवाको टिमुरेतर्फ लागेका छन् ।

अभियन्ताहरूले चामल, दाल, तेल, नुन, चाउचाउ, चिउरा, भुजा, खाद्यान्न, सोलार प्यानल, ब्याट्री, लत्ताकपडा र मेडिकल सामग्री लिएर गएका हुन् । अभियानको टोलीले आइतबार नुवाकोटको देवीघाट र त्रिशूली लगायत बाढी प्रभावित क्षेत्रमा राहत सामग्री वितरण गरेको थियो । रसुवा जाने क्रममा बाटोमै गाडी बिग्रिएपछि टोलीले अन्य प्रयोजनका लागि रसुवा जाँदै गरेको टिपरको सहयोगमा राहत सामग्री स्थानान्तरण गरेर यात्रा अघि बढाएको छ ।

कालिकास्थानसम्म टिपरमार्फत सामान पुर्‍याएर त्यहाँबाट अर्को गाडीमा लोड गरी धुन्चे पुर्‍याउने र मंगलबार दिउँसो लक्षित प्रभावितलाई वितरण गर्ने अभियानका अजय सोडारीले बताएका हुन् ।याे टोलीमा अजय सोडारी, प्रकाश बम, प्रज्वल लिम्बु र मणि सुन्दर लिम्बु सहभागी रहेका छन् ।

राष्ट्रिय जेनजी नागरिक अभियानले आगामी दिनमा पनि राहत सामग्री सङ्कलन तथा वितरणलाई निरन्तरता दिने जनाएको हाे। अभियानले तत्कालीन राहत तथा उद्धारको चरणपछि पुनर्निर्माणका लागि ५० जनाको टोली परिचालन गर्ने योजना समेत बनाएको छ।