Logo १४ भाद्र २०८३, आइतबार | Sun Aug 30 2026


भोटेकोशी बाढीः नाइमाद्वारा ५० लाख सहयोग


0
Shares


काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रु ५० लाख सहयोग गर्नेभएको छ ।

नाइमाका अध्यक्ष ऋतु सिंह वैद्यले आज एक विज्ञप्ति जारी गरी रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि रु ५० लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

नाइमाले बाढीका कारण भएको ठूलो मानवीय तथा भौतिक क्षति भएकोप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । विपद्को सुरुवाती समयदेखि नाइमामा आबद्ध सदस्य कम्पनीले आर्थिक, यातायात तथा लजिस्टिक माध्यमबाट उद्धार कार्यमा सहयोग पुर्याउँदै आएका आज जारी विज्ञप्तीमा जनाइएको छ ।

“हाम्रो स्थापना कालदेखि हामीले विपद्को समयमा सरकारलाई सहयोग गर्दै आएका छौँ, यसपटक पनि हाम्रा सदस्य कम्पनीले देखाउनुभएको तत्परता प्रशंसनीय छ । सरकार, निजी क्षेत्र र समुदायबीचको सहकार्यले मात्र राहत तथा पुनःस्थापना कार्यलाई प्रभावकारी बनाउन सकिन्छ”, अध्यक्ष वैद्यले भन्नुभयो ।

नाइमाले उद्धार कार्यमा खटिएका सुरक्षा निकाय, स्वास्थ्यकर्मी, स्वयंसेवक र स्थानीय समुदायको उच्च सम्मान गर्दै अटोमोबाइल तथा मोबिलिटी क्षेत्रका सम्पूर्ण सरोकार भएका निकायलाई आफ्नो क्षमताअनुसार सहयोगमा हातेमालो गर्नसमेत अपिल गरेको छ ।