काठमाडाैं । रसुवा बाढीका कारण धादिङ र नुवाकोट जोड्ने कोल्पुखोला पुलमा क्षति पुगेको छ ।
सडक विभागका महानिर्देशक डा. विजय जैसीकाअनुसार बाढीको फ्लोका कारण पुलको बियरिङमा अत्यधिक दबाब परेपछि पुल बाङ्गिएको हो । करिव ६ सय टन वजन क्षमता रहेको पुल उचालिएर बाङ्गिएको महानिर्देशक जैसीले जानकारी दिनुभयो ।
जैसीकाअनुसार कोल्पुखोला पुल करिब ४० मिटर लामो प्रि–स्ट्रेस्ड ब्रिज हो । बाढीको बहावले पुलको माथिल्लो भागमा रहेको बियरिङमा अत्याधिक बल लगाएपछि पुलको एकातर्फ धेरै र अर्कोतर्फ कम उचाईमा उठेको उहाँले जानकारी दिनुभयो । पुल आफ्नो बियरिङमा बस्नुपर्ने भएपनि हाल स्टपरमा आएर बसेको उहाँको भनाई छ । यसका कारण पुलले डिजाइनअनुसारको भार वहन गर्नसक्ने अवस्था नरहेको उहाँले बताउनु भयो ।
उहाँकाअनुसार पुललाई तत्काल चारैतिर ज्याक राखेर उचाली पुनः बियरिङमा सही स्थानमा राख्ने तयारी भइरहेको छ । यसका लागि गल्छी–बेत्रावती सडक आयोजनाले ठेकेदारसँग समन्वय गरेर आवश्यक प्राविधिक टोली खोजिरहेको उहाँले जानकारी दिनुभयो । पुल मर्मत नभएसम्म हालका लागि हलुका सवारीसाधन मात्र सञ्चालन गर्न दिने तयारी विभागको छ ।
पुलमा असन्तुलित रूपमा भार पर्दा स्टपरमा थप क्षति हुनसक्ने भएकाले भारी सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको उहाँले बताउनु भयो । नुवाकोटको देवीघाटमा बेली ब्रिज निर्माण गरेर भारी सवारीसाधन सञ्चालनको वैकल्पिक व्यवस्था गर्नेबेलासम्म कोल्पुखोला पुललाई पनि उचालेर बियरिङमा पुनःस्थापना गर्ने तयारी रहेको उहाँले जानकारी दिनुभयो । पुल उचाल्न नेपालमा उपलब्ध प्राविधिक जनशक्ति खोजिने र आवश्यक परे भारतबाट समेत टोली ल्याउने उहाँले बताउनु भयो ।
उहाँले गल्छी–स्याफ्रुबेसी बेत्रावती सडकखण्ड पनि दुईहप्ताभित्र सञ्चालनमा ल्याउनेगरी विभागले काम गरिरहेको बताउनु भयो । बाढीका कारण करिब ४० किलोमिटर सडक वासआउट भएको छ । नुवाकोटको सदरमुकाम विदुरभन्दा माथि बेत्रावतीसम्मको करिब १० किलोमिटर सडकखण्डमध्ये चारदेखि पाँच किलोमिटर सडक त्रिशूली नदीमा मिसिएको उहाँले जानकारी दिनुभयो ।
बगेको सडकखण्डमा तत्काल अस्थायी रूपमा सडक सञ्चालन गर्ने उपाय खोजेर काम अघि बढाइएको उहाँको भनाई छ । उहाँले रसुवाको सदरमुकाम धुञ्चे जोड्ने वैकल्पिक मार्ग पहिचान गरिएको जानकारी दिनुभयो । बेत्रावतीतर्फबाट धुन्चे जोड्ने वैकल्पिक बाटो पहिचान गरिएकोले सो मार्ग सञ्चालनमा ल्याउने तयारी भएको उहाँको भनाई छ । तर मैलुङ–स्याफ्रुबेसी खण्डमा भने तत्काल सवारी सञ्चालन गर्न सक्ने अवस्था नरहेको उहाँले बताउनु भयो ।
चीनको तिब्वतबाट भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङका सडक तथा पुलमा ठूलो क्षति पुगेको छ । सडक विभागले क्षतिको यकिन विवरण निकाल्न सकेको छैन । विभागले प्रारम्भिक चारण्मा कम क्षति भएका संरचनालाई मर्मतसम्भार गरेर सञ्चालनमा ल्याउने तयारी गरेको छ । यस्तै तत्काल सञ्चालन गर्न नसकिने सडक तथा पुलको लागि वैकल्पिक सडकमार्ग पहिचान गर्ने काम भईरहेको विभागले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्