काठमाडाैं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले रसुवा जिल्लामा आएको विनाशकारी प्राकृतिक विपद्प्रति दुःख व्यक्त गर्नुभएको छ ।
शनिवार जनकपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले रसुवा बाढीप्रति दुःख व्यक्त गर्नुभएको हो । नेता नेपालले रसुवामा गएको बाढीको घटनालाई ‘विनाशको लीला’ संज्ञा दिँदै ठूलो संख्यामा मानवीय र भौतिक क्षति भएको उल्लेख गर्नुभयो । चीन र नेपालको सीमा नाका एवं मानसरोवर र कैलाश पर्वतको प्रवेशद्वारका रूपमा रहेको सो क्षेत्रमा भएको क्षतिले समग्र राष्ट्रलाई नै अपूरणीय क्षति पुगेको उहाँको भनाइ छ ।
उहाँले ठूलो संख्यामा मानिसहरूको ज्यान गएको, कैयौँ घाइते भएको र हजारौँको उद्धार गरिएको जानकारी दिँदै सो क्षेत्रका जलविद्युत गृह, विद्यालय र अस्पतालहरूमा भएको भौतिक क्षतिको परिमाण अर्बौं रुपैयाँ बराबर रहेको बताउनुभयो ।
नेता नेपालले विकास निर्माणका ठूला आयोजना र राज्यको लगानीका प्राथमिकताहरू स्पष्ट हुनुपर्नेमा जोड दिनुभयो । देशको आर्थिक र सामाजिक रूपान्तरणका लागि समाजवादको विकल्प नरहेको बताउनु भयो । उहाँले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलजस्ता गौरवका आयोजनाको महत्त्वबारे चर्चा गर्दै बजेटको सदुपयोग र प्राथमिकता निर्धारणमा सरकार गम्भीर हुनुपर्ने बताउनु भयो ।
राजनीतिक र वैचारिक सन्दर्भमा बोल्दै नेता नेपालले पुँजीवादले जनतालाई गरिबी, अभाव र बेरोजगारीमा राख्ने दाबी गर्नुभयो । उहाँले सामाजिक न्याय र जनताको सेवाका लागि ‘नेपाली विशेषताको समाजवाद’ नै उत्तम विकल्प भएको जिकिर गर्नुभयो । कम्युनिष्ट पार्टीभित्र बढ्दै गएको व्यक्तिवादी प्रवृत्ति र नेताको अन्धप्रशंसा गर्ने शैलीको आलोचना गर्दै उनले पार्टी व्यक्ति प्रधान नभई नीति र कमिटी प्रधान हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘कुन ठाउँमा हवाई मैदान बनाउने र कुन पुललाई प्राथमिकता दिने भन्ने कुराको वैज्ञानिक छनोट हुनुपर्छ । कम्युनिष्ट पार्टीभित्र गुटबन्दी र व्यक्तिवाद गलत हो । हामीले नीति र सिद्धान्तको आधारमा संगठनलाई बलियो बनाउनुपर्छ ।
साना–ठूला चुनौती र हार–जितबाट विचलित नभई आफ्ना कमजोरीहरू सुधारेर अघि बढ्नु आजको आवश्यकता हो ।’
नेता नेपालले चीनको विकासमा अपनाइएका नीतिहरूको उदाहरण दिँदै नेपालले पनि आफ्नै परिवेश अनुकूलको समाजवादी बाटो पक्रिनुपर्ने बताउनु भयो । पार्टी एकता र वैचारिक स्पष्टताले मात्र नयाँ नेपालको निर्माण सम्भव हुने विश्वास व्यक्त गर्नुभयो ।









प्रतिक्रिया दिनुहोस्