काठमाडाैं । नेपाल प्रहरीले रसुवा बाढीले प्रभावितको खोजतलास, उद्धार र राहत वितरणका साथै शव व्यवस्थापनको कार्यलाई तिब्रता दिएको छ ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेले शनिवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै विपद्पछिको अवस्थालाई सम्बोधन गर्न संगठन अहोरात्र खटिएको बताउनुभएको हो ।
प्रहरीकाअनुसार फेला परेका शवहरूको पहिचानका लागि तस्बिर र ट्यागसहितको विवरण नेपाल प्रहरीको आधिकारिक वेबसाइटमा राखिएको छ । बेपत्ता व्यक्तिहरूको खोजीका लागि अनलाइन माध्यमबाट निवेदन लिने व्यवस्था मिलाइएको र घाइतेहरूको विवरण प्रहरीको फेसबुक पेजमार्फत नियमित अद्यावधिक भइरहेको छ ।
हराइरहेका व्यक्तिको हुलिया र तीनपुस्ते विवरणका आधारमा अस्पतालहरूमा समन्वय गरी पहिचान गर्ने कार्य भइरहेको डीआईजी काफ्लेले बताउनु भयो । यसैगरी, सम्पर्कविहीन विदेशी पर्यटकहरूको खोजी र विवरण संकलनका लागि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को नेतृत्वमा पर्यटक प्रहरी परिचालन गरिएको छ । नेपाल टेलिकमसँगको समन्वयमा बेपत्ता व्यक्तिहरूको अन्तिम लोकेसन ‘ट्याली’ गरी खोजी कार्यलाई थप प्रभावकारी बनाइएको प्रहरीले जनाएको छ ।
विपद्को मौका छोपेर हुने चोरी, लुटपाट तथा अन्य आपराधिक गतिविधि नियन्त्रणमा प्रहरीले कडा निगरानी राखेको छ । चितवनमा एक महिलाको शवबाट सुनका गरगहना निकाल्दै गरेका व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ । त्यस्तै, बाढीले बगाएर ल्याएको बैंकको भल्ट (सेफ) फोडेर चोरी गर्न खोज्ने २९ जनालाई जिल्ला प्रहरी कार्यालय धादिङले नियन्त्रणमा लिएको प्रवक्ता काफ्लेले बताउनु भयो । सामाजिक सञ्जालमा भ्रम र अफवाह फैलाउने व्यक्तिहरूको समेत पहिचान गरी निगरानी भइरहेको प्रवक्ता काफ्लेले उल्लेख गर्नुभयो ।
अवरुद्ध भएका मुख्य राजमार्गहरू खुलाउन प्रहरी टोली निरन्तर खटिएको र धादिङ लगायतका स्थानमा सडक सुचारु गराइएको पनि जानकारी दिनुभयो । नदी किनारमा रहेका शवहरूको पहिचानका लागि ड्रोन प्रयोग गरी खोजी कार्य भइरहेको उहाँले बताउनु भयो । काठमाडौंको टिचिङ अस्पताल, पोखरा र चितवन लगायतका स्थानमा शव व्यवस्थापन र हस्तान्तरणको प्रक्रिया शुरु गरिएको छ । पहिचान हुन नसकेका शवहरूको हकमा नयाँ पारित कार्यविधिअनुसार आवश्यक कानूनी प्रक्रिया पूरा गरिने प्रहरीले जनाएको छ ।
उद्धार र खोजी कार्यमा केही प्राविधिक र भौतिक चुनौती रहेको प्रहरीले जनाएको छ । खोला किनारको दलदलमा हिँड्न सहज हुने विशेष प्रकारका बुट, वायरलेस ट्रयाकिङ डिभाइस र कम्तीमा १०० केजी तौल बोक्नसक्ने क्षमताका ड्रोनहरू आवश्यक रहेको प्रवक्ता काफ्लेले बताउनुभयो ।
प्रभावित क्षेत्रमा थप फरेन्सिक चिकित्सकहरूको आवश्यकता रहेको र शवलाई सुरक्षित राख्न ‘रेफ्रिजिरेटिङ कन्टेनर’ का लागि राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणसँग समन्वय भइरहेको उहाँले जानकारी दिनुभयो । हाल जिल्ला प्रशासन कार्यालयहरूको सक्रियतामा शव व्यवस्थापनका लागि स्थान पहिचान गर्ने कार्य समेत भइरहेको काफ्लेले बताउनु भयो ।









प्रतिक्रिया दिनुहोस्