काठमाडाैं ।
चितवनमा रसुवा बाढीमा परेर ज्यान गुमाएकाको शव राख्ने ठाउँ नै अभाव भएको छ ।
चितवनस्थित भरतपुर अस्पतालमा शव राख्ने ठाउँको पोष्टमार्टम घर भरिएपछि शवलाई त्रिपाल टाँगेर बाहिरै राखिएको छ ।
हालसम्म ६४ वटा शव अस्पतालमा ल्याइएको भरतपुर अस्पतालका सूचना अधिकारी गोपालप्रसाद पौडेलले बताउनुभयो । अस्पतालमा १२ जनासम्म राख्ने क्षमता रहेको र त्यो भरिएको उहाँको भनाई छ ।
भरतपुर अस्पतालमा ६ वटा फ्रिजर हो । एउटामा २–२ जना राख्दा १२ जना राख्न मिल्ने भएकाले कठिनाई भैरहेको छ । शव गृहमा नअटेका शव एसीसहितको कोठामा राख्ने तयारी गरिएको छ । आफन्त वा परिवारले शव प्रहरीमार्फत सनाखत गरेपछि अस्पतालले पोस्टमार्टम गरेर जिम्मा लगाइने भएको छ ।
भरतपुरस्थित औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको एउटा पुरानो भवनमा ‘पीडित परिवार सम्पर्क परामर्श केन्द्र’ स्थापनाको काम अहिले भइरहेको छ । ५ सयसम्म शव राख्न मिल्ने गरी पहिचान केन्द्र तयार भइरहेको चितवनका एसपी रामेश्वर पौडेलले जानकारी दिनुभयो ।
चितवन क्षेत्रबाट मात्र हालसम्म १ सय ८ वटा शवहरू फेला परेका छन् । ती शवलाई सुरुमा भरतपुर अस्पतालको मर्चरीमा लगेर सफा गर्ने, ट्याग लगाउने र बडी ब्यागमा राख्ने काम हुँदैछ । त्यसपछि, माइनस डिग्री सेल्सियस तापक्रम भएको पहिचान केन्द्रको विशेष कुलिङ हलमा शव राखिने एसपी पौडेलले बताउनुभयो ।









प्रतिक्रिया दिनुहोस्