Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


भोटेकोसी बाढीमा खोटाङका ८ जना सम्पर्क विहीन


0
Shares

सविना अछामे, खोटाङ । भोटेकोसी बाढीमा परी खोटाङका ८ जना सम्पर्क विहीन भएका छन् । रसुवामा विभिन्न क्षेत्रमा काम गर्ने ८ जना सम्पर्क विहीन भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतका अनुसार दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका ३३ वर्षीय पवन खत्री, ४ खाल्लेका २७ वर्षीय सुर्जबहादुर परियार, १५ विजयखर्कका ४४ वर्षीय कविन राई, ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुर्कका ५३ वर्षीय युवराज राई, उक्त ठाउँकै ३३ वर्षीय एसबहादुर राई, ४ जलेश्वरीका ४१ वर्षीय बालकुमार तामाङ, ७ माक्पा लेवाका ६० वर्षीय तारानाथ थापा र रावाबेसी गाउँपालिका–३ लामीडाडाँका पुष्पराज भट्टराई भदौ १० गते विहानदेखि सम्पर्क विहीन भएका हुन् ।

उनीहरूमध्ये पवन खत्री रसुवाको मैलुङ आर्मी पोष्टमा लेस नायक पदमा कार्यरत हुन् । कविन राई त्यसक्षेत्रमै ट्रक ड्राइभर हुन् भने सूर्जबहादुर परियार त्यहाँकै हाइड्रोपावरको सुरुङमार्गमा कार्यरत रहेको प्रहरीले जनाएको छ । त्यस्तै तारानाथ थापा चाहिँ नुवाकोटको होटलबाट सम्पर्क विहीन भएका हुन् ।

युवराज राई, बालकुमार राई र एसबहादुर राई ट्रेकिङ गाइड भएको बस्नेतले सुनाएका छन् । उनीहरूका आफन्तले खोजीका लागि आग्रह गरेका छन् ।