Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


देशमा भएकाे अकल्पनीय विपत्तिको सामना गर्न राज्यका सम्पूर्ण संयन्त्र परिचालित: प्रधानमन्त्री शाह

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न आह्वान

91
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले देश अकल्पनीय विपत्तिमा परेकाे समयमा यथाशीघ्र र यथाशक्य उद्धार तथा राहत कार्यमा जुटेको बताउनुभएकाे छ।

प्रधानमन्त्री शाहले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत यस्ताे बताउनुभएकाे हाे। उहाँले सिङ्गो देश, विश्वभरका नेपाली र अन्तर्राष्ट्रिय समुदायको सहयोग एवम् सहकार्यमा विपत्तिको मिलेर सामना भइरहेको बताउनुभयाे। उद्धारका लागि बिहीबार बिहान साढे ६ बजेदेखि नै उडानहरू शुरु गरिएकाे र १५ भन्दा बढी उडान सम्पन्न भएको बताउनुभएकाे छ। थप हेलिकोप्टर पनि उडानका लागि तयारी अवस्थामा राखिएकाे समेत जानकारी गराउनुभयाे।

प्रधानमन्त्री शाहले नेपाली सेनाको उद्धार टोलीले रसुवाको टिमुरेबाट १ सय १६ जनालाई सकुशल उद्धार गरेको बताउनुभएकाे छ। उद्धार गरिएकामा ९५ नेपाली र २१ भारतीय नागरिक रहेकाे बताउनुभयाे। यसका साथै टनेलबाट सात जना नेपाली नागरिकको सफलतापूर्वक उद्धार गरिएको जानकारी दिनुभएकाे छ। प्रभावित क्षेत्रमा अत्यावश्यक सामग्री द्रुत रूपमा पुर्‍याउने काम भइरहेको समेत बताउनुभयाे।

प्रधानमन्त्री शाहले राज्यका सम्पूर्ण संयन्त्र परिचालित भएकाले धैर्य तथा संयम राखी उद्धारको प्रतीक्षा गर्न अनुरोध गर्नुभएकाे छ। उहाँले आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न आह्वान समेत गर्नुभयाे।