काठमाडौं । पाकिस्तानमा हुने १४औं दक्षिण एशियाली खेलकुद (साग) तीन सहरमा हुने भएको छ।
नेपाल ओलम्पिक कमिटीले बुधबार पत्रकार सम्मलेन गर्दै प्रतियोगिता इस्लामावाद, लाहोर र पेसावरमा हुने जानकारी दिएको हो । आयोजकका अनुसार, इस्लामावादमा १५, लाहोरमा १० र पेसावरमा तीन खेल हुने भएकाे छ । एनओसीका अनुसार, इस्लामावादमा एथलेटिक्स, व्याडमिन्टन, बास्केटबल, स्नुकर, फुटबल, कबड्डी, कराते, रोइङ, स्क्वास, टेबल टेनिस, टेनिस, ट्रायथलन, भारोत्तोलन, उसु र सुटिङका खेल सञ्चालन हुने भएकाे हाे।
त्यसैगरी लाहोरमा बक्सिङ, क्रिकेट, फेन्सिङ, गल्फ, ह्यान्डबल, हक्की, रग्बी, पौडी, तेक्वान्दो र कुस्तीतर्फ प्रतिस्पर्धा हुनेछ भने पेसावरमा आर्चरी, जुडो र भलिबलका खेल हुने भएकाे छ। एनओसीका अनुसार, साग आगामी चैत २० देखि २८ गतेसम्म हुने निर्णय भएको हाे। त्यसैगरी आगामी सागमा २८ खेल समावेश हुनेछ । जसमा २५ खेलमा पुरुष र महिलाको खेल हुने भएकाे हाे।
प्रारम्भिक सूची अनुसार ३ सय १ सय ७२ खेलाडी र १ सय १९ अफिसियलसहित कूल ४ हजार १ सय ९१ को सहभागिता रहनेछ । पाकिस्तानमा साग प्रतियोगिता हुन लागेको यसपालि तेस्रो पटक हो ।
पाकिस्तानले यसअघि सन् १९८९ मा चौथो र २००४ मा नवौं संस्करण आयोजना गरेको थियो ।









प्रतिक्रिया दिनुहोस्