Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


विपद्बाट भएको क्षतिको विवरण सङ्कलन गर्न ‘र्‍यापिड एक्सन टिम’ गठन गर्न निर्देशन


0
Shares

काठमाडौँ ।
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले बाढीबाट भएको क्षतिको तत्काल विवरण सङ्कलन तथा आवश्यक समन्वयका लागि मन्त्रालयअन्तर्गतका पाँचवटा सम्बन्धित विभाग तथा निकायलाई ‘र्‍यापिड एक्सन टिम’ गठन गरी परिचालन गर्न निर्देशन दिनुभएको छ ।

मन्त्री चौधरीले सम्बन्धित निकायहरूले आ–आफ्नो क्षेत्राधिकारभित्र विपद्बाट भएको क्षतिको स्थलगत विवरण तत्काल सङ्कलन गरी उद्धार, राहत, पुनःस्थापना तथा आगामी कार्ययोजना निर्माणमा सहयोग पुग्नेगरी आवश्यक प्रतिवेदन तयार गर्न निर्देशन दिनुभएको हो ।

बाढीका कारण कृषि, वन, पशुपन्छी तथा वन्यजन्तुसँग सम्बन्धित क्षेत्रमा भएको जनधन तथा भौतिक क्षतिको यथार्थ विवरण तत्काल प्राप्त गर्न सम्बन्धित निकायलाई सक्रिय र समन्वयात्मक रूपमा परिचालन गर्न मन्त्री चौधरीले निर्देशन दिनुभएको छ ।

मन्त्रीको निर्देशनअनुसार गठित टिममा योजना तथा विकास सहायता समन्वय महाशाखाका सहसचिव डा हरिबहादुर केसी, वन तथा भू–संरक्षण विभागका उपमहानिर्देशक धनञ्जय लामिछाने, कृषि विभागका उपमहानिर्देशक राजेन्द्र कोइराला, केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका प्रमुख डा वरुणकुमार शर्मा, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिस्ट हरिभद्र आचार्य तथा जल तथा मौसम विज्ञान विभागका उपसचिव विभूति पोखरेल रहनुभएको छ ।

उक्त टिमले सम्बन्धित क्षेत्रमा क्षतिको प्रकृति, परिमाण, प्रभावित क्षेत्र तथा तत्काल आवश्यकतासम्बन्धी विवरण सङ्कलन गर्नेछ । सङ्कलित विवरणका आधारमा तत्काल आवश्यक राहत, उद्धार तथा पुनःस्थापनाका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय गरिनेछ ।

मन्त्री चौधरीले विपद्बाट भएको क्षतिको वास्तविक र तथ्यपरक विवरण तत्काल प्राप्त गरी त्यसलाई राहत, पुनःस्थापना तथा आगामी कार्ययोजना निर्माणको आधार बनाउने उद्देश्यले सम्बन्धित निकायलाई प्रभावकारी, सक्रिय तथा समन्वयात्मक रूपमा काम गर्न निर्देशन दिनुभएको छ ।