Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


नेकपा सांसदले भनिन्– आवश्यक परे हामीलाई पनि विपद् उद्धार कार्यमा खटाइयोस्


0
Shares

काठमाडाैं ।
नेपाली कम्युनिष्ट पार्टीकी सांसद पार्वती विकले मुलुकमा आएको प्राकृतिक विपद्को सामना गर्न राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर राष्ट्रिय एकताका साथ उद्धार कार्यमा लाग्न सरकार र सरोकारवाला पक्षसँग आग्रह गर्नुभएको छ ।

बुधवार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद विकले हालैको अविरल वर्षाका कारण रसुवा, धादिङ, चितवन लगायतका जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभयो । आवश्यक परे सांसदहरुलाई पनि उद्धार कार्यमा खटाउन आग्रह गर्नुभयो ।

उहाँले विपद्का कारण हजारौँ नागरिक बेपत्ता भएको, लाखौँ प्रभावित भएको र अर्बौँको क्षति भएको उल्लेख गर्दै प्रभावित क्षेत्रको जनजीवन सामान्य बनाउन सरकारले तदारुकता देखाउनुपर्नेमा जोड दिनुभयो । सांसद विकले विगतमा जाजरकोटमा आएको बाढीपहिरोबाट विस्थापित भएका परिवारले अझै पनि उचित व्यवस्थापन नपाएको स्मरण गराउँदै वर्तमान विपद्का पीडितहरूले पनि त्यस्तै नियति भोग्न नपरोस् भनी सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद विकले उद्धार र राहत कार्यमा सरकार एक्लैको प्रयास पर्याप्त नहुने भन्दै निजी क्षेत्रलाई अविलम्ब परिचालन गर्न सुझाव दिनुभयो । साथै, विगतका विपद्हरूमा अतुलनीय सहयोग पु¥याएका वैदेशिक तथा आन्तरिक सहयोगी निकायहरूलाई पुनः सक्रियताका साथ सहयोगमा जुट्न उहाँले अपिल गर्नुभयो ।

विपद्को यस संवेदनशील घडीमा सामाजिक सञ्जालमार्फत त्रास र भ्रम फैलाउने कार्य भइरहेको प्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो । यस्ता नकारात्मक र भयावह सन्देशहरूले नागरिकमा झन् वितृष्णा र त्रास पैदा गर्ने भन्दै जिम्मेवार भई तथ्यपूर्ण सूचना मात्र सम्प्रेषण गर्न उहाँले सम्पूर्ण प्रयोगकर्ताहरूलाई आग्रह गर्नुभयो । उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सांसदहरूलाई पनि कार्यक्षेत्रमा खटाउनुपर्ने उहाँको धारणा छ ।

उहाँले भन्नुभयो, ‘अहिलेको अवस्थामा नागरिकको जिउधनको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हुनुपर्छ। सरकारले हामी सांसदहरूलाई पनि कुन रूपमा र कसरी परिचालन गर्न सक्छ, त्यसका लागि हामी तयार छौँ । हामीलाई पनि उद्धार कार्यमा खटाइयोस् ।’ सांसद विकले प्राकृतिक प्रकोपले दिएको पीडामाथि एक–अर्काको घाऊमा मलम लगाउने गरी मानवीय भावनाका साथ अगाडि बढ्न र नागरिकलाई हतोत्साहित पार्ने खालका गतिविधि नगर्न सबैमा आग्रह गर्नुभएको छ ।