काठमाडाैं ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले विपद्पछि उद्धार र पुनस्र्थापनाका लागि राष्ट्रिय एकताको खाँचो रहेको बताउनुभएको छ ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विपद्पछिको राहत, उद्धार र पुनर्निर्माणको कार्य समेत सावधानीपूर्वक गर्न सरकारलाई आग्रह गर्नुभयो ।
उहाँले चीनबाट आएको बाढी भारततर्फ जाने अवस्थामा नेपालले भारतलाई समयमै जानकारी दिएको वा नदिएको विषय महत्वपूर्ण रहेको पनि बताउनु भयो । उहाँले विपद्को समयमा छिमेकी मुलुकबीच सूचना आदानप्रदान प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो । उहाँले सामाजिक सञ्जालमा आएका सबै सूचना सत्य नहुने भन्दै आधिकारिक सूचना र तथ्यका आधारमा विपद् व्यवस्थापनमा संयन्त्र परिचालन गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘चीनबाट आएको बाढी अब उता भारत जाने होला । समून्द्रमा मिसिने होला । नेपालले चाहीँ भारतलाई जानकारी दियो कि दिएन भन्नेकुरा हो । यो सूचना आदानप्रदान ठुलो कुरा हो । सोसियल मिडियामा हेरेका सबै कुरा सत्य हुँदैनन् । चीनसँग सूचना आदान प्रदान हुनुपथ्र्यो । यस विपद्को समयमा एकदम सावधानीपूर्क उद्धारको कार्य गर्न समेत म सरकारलाई आग्रह गर्न चाहान्छु । यो विपद्को समयमा राष्ट्रिय एकताको खाँचो रहेको छ । यतिबेला सत्तापक्ष र प्रतिपक्ष भन्ने कुरा हुँदैन । हामी सबै एउटै टिम हो, वान टिम, वान नेसन । हाम्रो लक्ष्य पनि एउटै छ ।’ सत्तापक्ष र प्रतिपक्षभन्दा माथि उठेर एकजुट भएर विपद्को सामना गर्नुपर्नेमा जोड दिनुभयो ।









प्रतिक्रिया दिनुहोस्