Logo ८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026


बागमतीका मुख्यमन्त्री किरण थापाले विश्वासको मत लिने कार्यसुची अन्योलमा


0
Shares

सुबर्ण श्रेष्ठ,हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापाले आज दिउँसो १ बजे प्रदेश सभाबाट विश्वासको मत लिने तय भएको कार्यसूची अन्योलमा परेको छ।

नेकपा एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मिलेर गठबन्धन सरकार गठन गर्ने तयारी भए पनि गठबन्धन निर्माणका विषयमा नेकपाभित्र पर्याप्त छलफल नभएको भन्दै प्रदेश सभा बैठकमा अनुपस्थित भएपछि मुख्यमन्त्री थापाले विश्वासको मत लिन अन्याेल भएको हो।

यस्तै, राप्रपाभित्र पनि विश्वासको मतका विषयमा संसदीय दलमा एकमत हुन सकेको छैन। राप्रपा बागमती प्रदेशकी प्रमुख सचेतक कुमारी तामाङले प्रदेश सरकार गठनविरुद्ध उच्च अदालत हेटौंडामा रिट दर्ता गरेकी छन्। उक्त रिटमा अदालतले विपक्षीका नाममा कारण देखाऊ आदेशसमेत जारी गरेको छ।

अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा प्रदेश सभामा विश्वासको मत लिनु असंवैधानिक हुने दाबी गर्दै प्रमुख सचेतक तामाङले प्रदेश सभा बैठक रोक्न प्रदेश सभालाई पत्राचार गरेकी छन्।

गठबन्धनभित्रकै राजनीतिक असमझदारी, राप्रपाभित्रको विवाद तथा अदालतमा विचाराधीन मुद्दाका कारण मुख्यमन्त्री थापाले विश्वासको मत लिने आजको कार्यसूची अन्योलमा परेको हो।