Logo ५ भाद्र २०८३, शुक्रबार | Fri Aug 21 2026


सरकारले मुलुकलाई पुनः निर्दलीय व्यवस्थातर्फ धकेल्न खोजेको कांग्रेसकाे आरोप


0
Shares

काठमाडाैं। राष्ट्रियसभा सदस्य एवं नेपाली कांग्रेसका नेता आनन्दप्रसाद ढुंगानाले सरकारले अध्यादेशमार्फत ट्रेड युनियन र विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाएकाे भन्दै आपत्ति जनाउनुभएको छ।

राष्ट्रिय सभाको शुक्रबारकाे बैठकमा बोल्दै सांसद ढुंगानाले सरकारको यो कदमले मुलुकलाई पुनः निर्दलीय व्यवस्थातर्फ धकेल्न खोजेको आरोप लगाउनुभएकाे हाे। निर्दलीय व्यवस्था चलाउन खोजेको हो भने आफूहरु लोकतन्त्रका लागि बलिदान दिन तयार रहेको बताउनुभएकाे छ । उहाँले २००३ सालको विराटनगर जुट मिल आन्दोलन र वीपी कोइराला, मनमोहन अधिकारी तथा गिरिजाप्रसाद कोईरालाले प्रजातन्त्रका लागि भोगेको जेल जीवनको स्मरण गराउँदै वर्तमान परिवर्तन आन्दोलनकै जगमा उभिएको स्पष्ट पार्नुभयो ।

विगत ३५ वर्षमा मुलुकमा केही काम नभएको भनी भइरहेको प्रचारको खण्डन गर्दै सांसद ढुंगानाले सोही अवधिमा सडक, अस्पताल, विद्यालय र विश्वविद्यालयहरूको निर्माणमा उल्लेख्य प्रगति भएको दावी गर्नुभएकाे छ। उहाँले तथ्याङ्क हेर्न र नपढीकन नकारात्मक भ्रम नफैलाउन आग्रह गर्नुभयो । अर्थतन्त्रको प्रसङ्गमा उहाँले वर्तमान अर्थमन्त्री डा. स्वर्णिम वाग्लेकै विगतको भनाइ उद्धृत गर्दै महेश आचार्य र रामशरण महत अर्थमन्त्री भएको समयमा मुलुकको अर्थतन्त्रले गति लिएको स्मरण गराउनुभएकाे छ ।

सांसद ढुंगानाले निर्वाचनको समयमा जनकपुरमा प्रधानमन्त्री बालेन्द्र शाहको राजनीतिक अभिव्यक्तिमाथि प्रश्न उठाउनुभयो । प्रधानमन्त्रीले जनकपुरमा गएर एउटा र काठमाडौंमा अर्को कुरा गर्ने गरेको भन्दै उहाँले संघीयताका विषयमा सत्तापक्षको धारणा स्पष्ट नभएको बताउनुभएकाे छ। राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ संकेत गर्दै उहाँले संघीयता तोड्ने प्रश्ताव ल्याउनेहरूसँगको सहकार्यले जनतामा अविश्वास पैदा गरेको उल्लेख गर्नुभयो ।

सांसद ढुंगानाले सुशासनको नाममा हुने अराजक गतिविधि र सार्वजनिक सम्पतीको तोडफोडप्रति ढुंगानाले असन्तुष्टि व्यक्त गर्नुभएकाे छ । जेनजी प्रदर्शनका क्रममा सिंहदरबार, राष्ट्रपति भवन, संसद भवन र अदालतजस्ता संवेदनशील निकाय तथा नेताहरूका निजी निवासमा भएको आगजनी र आक्रमणलाई उहाँले गैरजिम्मेवारपूर्ण कार्यको संज्ञा दिनुभयो ।

मुलुकको राष्ट्रियता कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै सांसद ढुंगानाले भाषा, संस्कृति र सभ्यतामाथि भइरहेको प्रहारप्रति सबै सचेत हुनुपर्नेमा जोड दिनुभएकाे छ। सरकारले गालीगलौजमा उत्रिनुको सट्टा जिम्मेवार भएर काम गर्नुपर्नेमा उहाँको जाेड थियाे ।