Logo ४ भाद्र २०८३, बिहिबार | Thu Aug 20 2026


युक्रेनलाई पूर्ण रूपमा समर्थन गर्ने बेलायतकाे प्रतिबद्धता


312
Shares

एजेन्सी। बेलायत सरकारले युक्रेनलाई पूर्ण रूपमा समर्थन गरिरहने जनाएको छ।

बेलायतले रुसमा भएको युक्रेनी आक्रमणमा बेलायतमा निर्मित ड्रोन प्रयोग भएको पुष्टि भएपछि रुसले दिएको चेतावनीका बाबजुद पनि यस्ताे समर्थन गरेकाे हाे । बेलायती प्रधानमन्त्री एन्डी बर्नह्यामले युक्रेनलाई आवश्यक परेको समयमा बेलायत सधैँ साथमा रहने बताउनुभएको कतार न्युज एजेन्सीले जनाएको छ ।

युक्रेनलाई निरन्तर सैन्य सहयोग प्रदान गर्दा रुसबाट उत्पन्न हुन सक्ने जोखिमकाे बारेमा सोधिएको प्रश्नमा प्रधानमन्त्री बर्नह्यामले आफ्नो देशले युक्रेनलाई आत्मरक्षाका लागि आवश्यक सहयोग उपलब्ध गराउँदै आएको बताउनुभयाे। उहाँले आगामी दिनमा पनि समर्थन गरिरहने उल्लेख गर्नुभएकाे छ।

यसैबीच लन्डनमा रहेको रुसी दूतावासले बेलायतले जानाजान युक्रेन युद्धलाई थप चर्काउने नीति अपनाएको आरोप लगाएको हाे । बेलायतले द्वन्द्वमा आफ्नो सङ्लग्नता कायम राखे त्यसको उच्च मूल्य चुकाउनुपर्ने चेतावनी दिएकाे छ। दूतावासले बेलायतले त्यसको परिणाम भोग्नुपर्ने जनाएको हाे ।

युक्रेनले पछिल्लो समय मस्कोसहित रुसका विभिन्न क्षेत्रमा लामो दूरीका ड्रोन आक्रमण तीव्र बनाएको छ । युक्रेनले रुसी तेल प्रशोधन केन्द्र तथा रुसको प्रमुख अनलाइन खुद्रा बिक्रेता वाइल्डबेरीजसँग सम्बन्धित गोदामलाई समेत निशाना बनाउँदै आएको हाे ।