काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकार जनसरोकारका आधारभुत मुद्दाहरूमा संवेदनशील नभएको आरोप लगाउनुभएको छ ।
बुधवार संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष राईले दैनिक उपभोग्य वस्तुको अभावदेखि प्रशासनिक ढिलासुस्तीसम्मका विषयमा सरकारको आलोचना गर्नुभयो । संसद बैठक ढिलो शुरु भएको सन्दर्भमा टिप्पणी गर्दै राईले सत्तापक्षको आन्तरिक बैठकका कारण सदनलाई पर्खाइएकोमा असन्तुष्टि व्यक्त गर्नुभयो ।
उहाँले जिम्मेवार निकायलाई जवाफदेही बनाउन आफूले सामाजिक सञ्जालमार्फत नैतिक दबाब दिँदै आएको स्पष्ट पार्नुभयो । नियमअनुसार दुई घण्टाभन्दा बढी ढिलो भए बैठक स्थगित हुने प्रावधान भएपनि यस्ता प्राविधिक ढिलासुस्तीले संसदीय गरिमामा असर पुग्ने उहाँको तर्क छ ।
आम नागरिकले ग्यास, पेट्रोलियम पदार्थ र खानेपानी जस्ता आधारभुत आवश्यकताका लागि भोग्नुपरेको सास्तीप्रति चिन्ता व्यक्त गर्नुभयो । मल खरिदका लागि किसानले जग्गाको लालपुर्जा देखाउनुपर्ने प्रावधान अनावश्यक र झन्झटिलो भएको बताउनु भयो । वास्तविक किसानले अरूको खेत कमाएको हुनसक्ने र जग्गाधनी बाहिर भएको अवस्थामा मल नपाउनु न्यायोचित नभएको उहाँको तर्क छ । यस्तै, गृहमन्त्रीले आफ्नो छानबिन प्रतिवेदन पत्रकारहरूलाई नै खोज्न आग्रह गरेको प्रसङ्गमा राईले त्यसलाई केटाकेटीपनको संज्ञा दिँदै जिम्मेवार व्यक्तिले त्यसो भन्न नहुने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘कालाबजारी भइरहेको छ भने त्यसलाई नियन्त्रण गर्ने काम कार्यकारी निकाय सरकारकै हो । विदेशबाट आयात गर्नुपर्ने वस्तुहरूको हकमा स्टक सिस्टम प्रभावकारी बनाउनुपर्छ । म सबैभन्दा धेरै गाली खप्ने व्यक्ति हुँला, तर कहिल्यै रिसाएको छैन । नेताले ताली र गाली दुवै स्वीकार गर्नुपर्छ ।’ उहाँले सबै दलका समर्थकहरूलाई संयमित रहन र गालीगलौजमा नउत्रन आग्रह समेत गर्नुभयो ।









प्रतिक्रिया दिनुहोस्