Logo ३ भाद्र २०८३, बुधबार | Wed Aug 19 2026


ओखलढुंगामा श्रम साटासाट गर्ने मौलिक परम्परा अझै पनि कायमै (भिडियाे रिपाेर्ट)


39
Shares

ओखलढुंगा। ओखलढुंगाको रुम्जटारमा चल्दै आएको अर्मपर्म अर्थात श्रम साटासाट गर्ने मौलिक परम्परा अझै पनि कायमै रहेकाे छ । खेतीपाती गर्न श्रमिक नपाउने समस्या विकराल बन्दै गइरहेको समयमा यहाँका स्थानीयले भने आपसी भाइचारा र श्रम संस्कृतिको रूपमा अर्मपर्मलाई निरन्तरता दिइरहेका हुन् ।

गीत गाएको देखाउने सुरुमा ओखलढुंगाको रुम्जाटारका पाखापखेरामा गुञ्जने यस्ता मौलिक पर्मेली गीत वर्षायामको खेतीपाती सिजनमा सुनिने गर्छ । प्रविधिको तीव्र विकास, बसाइसराइ, रोजगारी, आधुनिक जीवनशैली जस्ता कारण देशका अधिकांश ग्रामीण भू-भागमा परम्परागत अर्मपर्म घट्दै गए पनि ओखलढुंगाको पर्यटकीय तथा ऐतिहासिक बस्ती रुम्जटारमा भने यो पर्मेली परम्पराको मौलिक संस्कृति अझै पनि उत्तिकै जीवन्त रहेको हाे ।

पर्मेली परम्परालाई अहिले पनि यहाँका स्थानीय किसानले निरन्तरता दिइरहेका छन् । गाउँमा २५ देखि ३० जनासम्मको सानो-ठूलो हुल तथा समूह बनाएर आलोपालो एकअर्काको मेलो खन्ने र रोप्ने काम नै पर्मेली परम्परा हो । पैसामा ज्याला मजदुरी गर्नु भन्दा आफ्नै छरछिमेक, नातागोता र साथीभाइ मिलेर पाखुरी साट्दै एक-अर्काको खेतीपाती सकाउने यो परिपाटीले कृषि कार्यलाई निकै सहज र रमाइलो बनाएको किसानहरु बताउँछन् ।

असारको हिलो मेलो होस् वा साउने कोदो रोप्ने चटारो, रुम्जटारका चेलीबेटी र माइतीहरू एकाबिहानै उत्साहका साथ मेलोमा जुट्ने गर्छन् । समूहको नियम अनुसार पुरुष माइतीहरूले बारी खनिसकेपछि चेलीबेटीहरूले साँझसम्म पर्मको रोपाईं सम्हाल्छन् । काम गर्दाको थकान मेट्नका लागि पर्मेली भाकाका गीत गाउने, हाँसीमजाक गर्ने र नाच्ने गरिन्छ । जसले कामको बोझ घटाउने मात्र नभई छरछिमेक र आफन्तबीचको आत्मीयतालाई अझ कसिलो बनाएको देखिएकाे हाे ।

यहाँको अर्मपर्म केवल खेतबारीमा पाखुरी साट्ने माध्यम मात्र नभई माइती र चेलीबेटीबीचको साँस्कृतिक सम्बन्ध र सम्मान दर्शाउने एउटा पवित्र पर्व जस्तै बनेको हाे । कुनै परिवारमा बिरामी तथा दुःखद् घटना परेर काम रोकिएमा सिङ्गो हुल नै गएर नि:शुल्क सहयोग गर्ने र मेलो सकिदिने नियम समेत पर्मेली हुलले अपनाउँदै आएका छन् । यस्ता हुल रुम्जाटारभरी १५-२० वटा रहेको यहाँका स्थानीयहरु बताउँछन् ।

रुम्जटारबासीको यो मौलिक श्रम साटासाट गर्ने पर्मेली परम्पराले आधुनिक समाजका लागि समेत सामाजिक एकता र सहकार्यको लोभ लाग्दो सन्देश दिएको देखिएकाे छ।

विस्तृत रूपमा भिडियाे रिपाेर्ट हेर्नुहाेस्: