Logo २ भाद्र २०८३, मंगलबार | Tue Aug 18 2026


मकवानपुर दुर्घटना: मुख्य न्यायाधीश डाँगीसहित ४ जनालाई सेनाको हेलिकोप्टरमार्फत वीरेन्द्र अस्पताल ल्याइयो


1.6k
Shares

काठमाडाैं । मकवानपुरको भीमफेदी गाउँपालिका-६, जुरिखेतमा मंगलबार बिहान भएको सवारी दुर्घटनामा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश र रजिस्ट्रारसहित ६ जना घाइते भएका छन् ।

प्रहरीले काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको सरकारी स्कारपियो जिप मंगलबार बिहान ७ बजे अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल खोल्सामा खसेको जनाएकाे हाे। दुर्घटनामा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगी, रजिस्ट्रार तारादत्त बडू, उहाँकी श्रीमती लक्ष्मी बडू, छोरा रितेन्द्र बडू, छोरी रिता बडू र चालक छुनिलाल चौधरी घाइते भएका छन् ।

घाइतेमध्ये लक्ष्मी बडूको अवस्था गम्भीर रहेको र अन्य पाँच जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको हाे । घाइतेहरूको प्रारम्भिक उपचार भीमफेदी अस्पतालमा गरिएको थियो । थप उपचारका लागि चालक चौधरी र रजिस्ट्रार बडूलाई हेटौंडा अस्पताल पठाइएको छ । मुख्य न्यायाधीश डाँगीसहित चार जनालाई नेपाली सेनाको हेलिकाेप्टर मार्फत काठमाडौंस्थित श्री वीरेन्द्र अस्पताल, छाउनी ल्याइएको हाे ।

मुख्य न्यायाधीश डाँगीको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ । अन्य घाइतेहरूको पनि टाउको र शरीरका विभिन्न अङ्गमा चोट लागेको प्रहरीले जनाएको हाे । घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भीमफेदी र जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीसहितको टोली घटनास्थल पुगेको थियो । दुर्घटनाग्रस्त सवारी साधन घटनास्थलमै रहेको र हाल सडकमा यातायात सञ्चालन सुचारु रहेको छ ।

दुर्घटनाको कारणकाे बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको हाे।