काठमाडौं ।
युवा, श्रम तथा रोजगार मन्त्रालय र नेपाल वैदेशिक रोजगार व्यवसायी संघबीच सहमति भएको छ ।
श्रममन्त्री रामजी यादवको उपस्थितिमा संघका अध्यक्ष तथा पदाधिकारीहरुसँग भएको छलफलमा व्यवसायीका माग सम्बोधन गर्ने सहमति भएसँगै व्यवसायीहरूले घोषणा गरेका सम्पूर्ण आन्दोलनका कार्यक्रमहरू फिर्ता भएका छन् ।
संघले गत साउन २२ गते १५ बुँदे माग राखेर आन्दोलन सुरु गरेको थियो ।
मन्त्रालयमा भएको छलफलका क्रममा संघले राखेका मागमध्ये अधिकांश नीतिगत सम्बोधनका विषय भएको र ती मागहरूलाई वैदेशिक रोजगार ऐन तथा नियमावली संशोधनको प्रक्रियामा समावेश गरिसकिएको जानकारी गराइएको छ । वैदेशिक रोजगारीको क्षेत्रलाई पारदर्शी, सुरक्षित र मर्यादित बनाउन उक्त संशोधन प्रक्रियालाई यथाशक्य छिटो टुंग्याउन मन्त्रालय र संघ दुवैले अधिकतम प्रयत्न गर्ने सहमति भएको छ ।
व्यवसायीहरूका अन्य मागका सन्दर्भमा आवश्यक प्रमाण र कागजातसहित वैदेशिक रोजगार विभागमा अनुरोध गरेमा विभागले प्रशासनिक सहजीकरण गर्ने जनाइएको छ । यस्तै, विभागबाट समाधान नभएका विषयमा रीतपूर्वक मन्त्रालयमा पुनरावेदन दिन सक्ने व्यवस्थाका बारेमा पनि स्पष्ट पारिएको छ ।









प्रतिक्रिया दिनुहोस्