Logo १ भाद्र २०८३, सोमबार | Mon Aug 17 2026


प्रशारण लाइनको अभावमा ऊर्जा खेर जाने अवस्थाको अन्त्य हुनुपर्दछः सचिव दुवाडी


104
Shares

काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयकी सचिव सरिता दवाडीले प्रशारण लाइनको अभावमा ऊर्जा खेर जाने अवस्थाको अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल विद्युत प्राधिकरणको ४१ औँ वार्षिकोत्सवको अवसरमा सोमवार आयोजित कार्यक्रममा उहाँले विद्युत उत्पादन, प्रशारण, वितरण र मागबीच सन्तुलन कायम गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले प्राधिकरण अब विद्युत उत्पादन र वितरणको विस्तारसँगै गुणस्तरीय तथा भरपर्दो सेवा, आन्तरिक खपत वृद्धि र विद्युत व्यापार विस्तारमा केन्द्रित हुनुपर्ने बताउनु भयो । उहाँले विद्युत उत्पादन, राष्ट्रिय प्रणाली सुदृढीकरण र विद्युत व्यापारमा उल्लेख्य प्रगति भएको उल्लेख गर्दै अब संस्थाको सफलता उत्पादन तथा वितरण क्षमताबाट मात्रै मापन गर्न नहुने बताउनु भयो ।

उपभोक्ताले कति भरपर्दो र सुरक्षित विद्युत सेवा पाइरहेका छन्, जडान प्रक्रिया कत्तिको सहज छ, प्राविधिक समस्या तथा गुनासो कति छिटो समाधान हुन्छ भन्ने विषयलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले जलविद्युतसँगै सौर्यलगायत नवीकरणीय ऊर्जाको उत्पादन बढिरहेको अवस्थामा उत्पादित विद्युत उपभोक्ता र बजारसम्म पु¥याउन प्रशारण लाइन, सबस्टेसन तथा वितरण प्रणालीको विकास पनि समान गतिमा अघि बढाउनुपर्ने बताउनुभयो ।

उत्पादित विद्युतको आन्तरिक खपत बढाउने सरकारको प्रमुख रणनीति रहेको उहाँले बताउनु भयो । औद्योगिक क्षेत्र, कृषि तथा सिंचाई, विद्युतीय यातायात र घरायसी प्रयोजनमा विद्युतीय उपकरणको प्रयोग बढाएर व्यापार घाटा न्युनिकरण तथा आर्थिक रूपान्तरणमा योगदान पु¥याउन सकिने उहाँको भनाइ छ । नेपालको विद्युत क्षेत्र अन्तरदेशीय बजारतर्फ समेत विस्तार भइरहेको बताउनु भयो । भारतसँगको विद्युत व्यापार विस्तार भइरहेको र बंगलादेशसँग समेत विद्युत व्यापारको नयाँ अध्याय शुरु भइसकेको उहाँको भनाई छ । दक्षिण एशियाली स्वच्छ ऊर्जा बजारमा नेपालको विद्युतलाई जोड्न अन्तरदेशीय प्रसारण संरचना, प्रणालीको विश्वसनीयता, व्यापारिक क्षमता र नियामकीय समन्वय सुदृढ गर्नुपर्ने उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विद्युत प्राधिकरणको सफलतालाई अब उत्पादन तथा वितरण क्षमतामा मात्र सीमित राख्न सकिँदैन । उपभोक्ताले कति भरपर्दो र सुरक्षित सेवा पाए, विद्युत जडान प्रक्रिया कत्तिको सहज भयो, प्राविधिक समस्या र गुनासोको सम्बोधन कति छिटो भयो, भोल्टेज र आपूर्तिको गुणस्तर कस्तो छ, यी विषयहरू हाम्रा लागि उत्तिकै महत्वपूर्ण छन् । त्यसैले हाम्रो जोड सबै नागरिकलाई गुणस्तरीय र भरपर्दो विद्युत सेवा उपलब्ध गराउने तर्फ केन्द्रित हुनुपर्दछ । अहिले हाम्रो विद्युत उत्पादनको क्षमता निरन्तर बढ्दो छ ।

जलविद्युतका साथै सौर्य ऊर्जा जस्ता नवीकरणीय स्रोतहरू प्रणालीमा थपिँदै छन् । उत्पादित विद्युतलाई उपभोक्ता र बजारसम्म सुरक्षित रूपमा पु¥याउन प्रशारण लाइन, सब–स्टेसन र वितरण प्रणालीको विकास पनि सोही गतिमा अघि बढ्नुपर्दछ । उत्पादन आयोजनाहरू तयार हुने तर प्रशारण लाइनको अभावमा ऊर्जा खेर जाने अवस्थाको अन्त्य हुनुपर्दछ । हामीले उत्पादन, प्रसारण, वितरण र मागबिच सन्तुलन कायम राख्नुपर्दछ । साथै उत्पादन भएको बिजुलीको आन्तरिक खपत बढाउनु हाम्रो प्रमुख रणनीति हुनुपर्छ ।

औद्योगिक क्षेत्र, कृषि तथा सिंचाइ, विद्युतीय यातायात, घरेलु खपतमा इन्डक्सन तथा विद्युतीय उपकरणहरूको प्रयोग बढाएर हामीले मुलुकको व्यापार घाटा कम गर्दै आर्थिक रूपान्तरण हासिल गर्न सक्दछौँ । नेपालको विद्युत क्षेत्र अब राष्ट्रिय सीमाभित्र मात्र सीमित छैन । भारतसँगको विद्युत व्यापार निरन्तर विस्तार भइरहेको छ साथै बंगलादेशसँग पनि विद्युत व्यापारको नयाँ अध्याय प्रारम्भ भइसकेको छ । यसले नेपालको जलविद्युतलाई दक्षिण एसियाली क्षेत्रकै स्वच्छ ऊर्जा बजारसम्म जोड्ने ऐतिहासिक अवसर सिर्जना गरेको छ ।

यस परिप्रेक्ष्यमा अन्तरदेशीय प्रसारण संरचनाको सुदृढीकरण, प्रणालीको विश्वसनीयता, व्यापारिक क्षमता अभिवृद्धि र नियामकीय समन्वयलाई थप मजबुत बनाउन आवश्यक छ । ऊर्जा क्षेत्रको बढ्दो आकार, वैदेशिक तथा निजी क्षेत्रको लगानी र प्रविधिको तीव्र विकासलाई सम्बोधन गर्न हाम्रा संरचना र कार्यप्रणालीमा पनि समय अनुकूल सुधार आवश्यक भइसकेको छ । विगतका उपलब्धिलाई संरक्षण गर्दै भविष्यका प्रतिस्पर्धी विद्युत व्यापार बजारका जटिल चुनौतीहरू सामना गर्न संस्थाहरू अझ व्यवस्थित, विशिष्टीकृत, पारदर्शी र कार्यसम्पादनमा आधारित बनाउन आवश्यक देखिएको छ ।

नागरिकलाई छिटो र छरितो गुणस्तरीय सेवा प्रदान गर्ने र उहाँहरूको गुनासो छिटो र यथाशीघ्र सम्बोधन गर्ने गर्ने कुनै किसिमको सम्झौता नगर्न यहाँहरूलाई पनि स्पष्ट पुनः अनुरोध गर्न चाहन्छु । अब हामी आगामी दिनमा हाम्रा साझा प्राथमिकताहरू स्पष्ट छन् । हामीले हाम्रा सबै नागरिकलाई गुणस्तरीय सेवा पु¥याउने, पूर्वाधारको समयबद्ध विकास गर्ने, प्रणालीको विश्वसनीयता बढाउने, आन्तरिक खपत र छिमेकी मुलुकहरूमा विद्युत व्यापार अभिवृद्धि गर्ने, सुशासन, पारदर्शिता र वित्तीय दिगोपना कायम गर्दै एवं प्रविधि मैत्री र दक्ष जनशक्तिको विकास गर्ने दिशामा एकबद्ध भएर अगाडि बढ्नु जरुरी छ ।’

ऊर्जा क्षेत्रको बढ्दो आकार, निजी तथा वैदेशिक लगानी र प्रविधिको तिब्र विकाससँगै संस्थागत संरचना र कार्यप्रणालीमा सुधार आवश्यक रहेको उहाँको भनाइ छ । उहाँले विद्युत क्षेत्रका संस्थालाई थप व्यवस्थित, विशिष्टीकृत, पारदर्शी र कार्यसम्पादनमा आधारित बनाउनुपर्ने बताउनु भयो । उहाँले प्राधिकरणका कर्मचारीलाई सुशासन र संस्थागत अनुशासनमा जोड दिँदै नागरिकलाई छिटो, छरितो र गुणस्तरीय सेवा उपलब्ध गराउन निर्देशन दिनुभयो ।

उपभोक्ताका गुनासो तत्काल सम्बोधन गर्ने विषयमा कुनै सम्झौता नगर्न उहाँले आग्रह गर्नुभयो । गुणस्तरीय सेवा विस्तार, पूर्वाधारको समयवद्ध विकास, विद्युत प्रणालीको विश्वसनीयता वृद्धि, आन्तरिक खपत तथा अन्तरदेशीय विद्युत व्यापार विस्तार, सुशासन, पारदर्शिता र वित्तीय दिगोपनालाई साझा प्राथमिकताका रूपमा अघि बढाउनुपर्ने उहाँको भनाई छ ।