Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ


182
Shares

रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले लागू पदार्थ सेवन गरी सवारी साधन चलाउने दुई चालकलाई पक्राउ गरेको छ।

बढ्दो सवारी दुर्घटना रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले सार्वजनिक सवारी साधनका चालकहरूको लागू पदार्थ सेवन जाँच गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय रामेछाप, जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछाप र मन्थली अस्पतालको संयुक्त आयोजनामा मन्थली नगरपालिका–१ रामनारायण चोकमा सवारी चालकहरूको लागू पदार्थ सेवन जाँच गरिएको थियो। मंगलबार बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म गरिएको जाँचका क्रममा लागू पदार्थ सेवन गरी सवारी चलाएको पाइएपछि दुई चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा दोलखाको तामाकोशी गाउँपालिका–२ डाँडागाउँका ३७ वर्षीय सञ्जु कार्की रहेका छन्। उनी बस चालक हुन्। त्यस्तै, सिन्धुलीको कमलामाई नगरपालिका–११ ठूले तेसैका २२ वर्षीय सुरेश मोक्तान ट्याक्टर चालक रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका दुवै चालकलाई कानुनबमोजिम नियन्त्रणमा लिई सम्मानित रामेछाप जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ।

सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षा कायम गर्न चालकहरूले लागू पदार्थ सेवन नगरी जिम्मेवार रूपमा सवारी सञ्चालन गर्न प्रहरीले आग्रह गरेको छ। साथै, आगामी दिनमा पनि सार्वजनिक सवारीका चालकलाई लक्षित गरी लागू पदार्थ सेवन जाँचलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ।

Skip This