शंकर बरूवाल-संवाददाता
रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका-४, प्रीतिमा अविरल वर्षासँगै आएकाे भेलले बगाउँदा एक बालकको निधन भएको छ।
साेही गाउँपालिका-४ पिर्फेका विक्रम सुनुवारका ५ वर्षीय छाेरा सुशान्त सुनुवारको मंगलबार साँझ विद्यालयबाट घर फर्किने क्रममा भेलले बगाउँदा निधन भएको हो । प्रीति च्यादलुमा रहेकाे श्री चण्डेश्वरी सेकेण्डरी माविमा सुशान्त इसिडिमा अध्ययनरत रहेकाे उमाकुण्ड गाउँपालिका-४ का वडा अध्यक्ष मानबहादुर सुनुवारले ईमेज खबर डटकमलाई जानकारी दिनुभएकाे छ। मृतक बालककाे शव बुधबार दाेलखाकाे जिरी अस्पतालमा पोस्टमार्टम गरेपछि परिवारलाई बुझाउने पनि उहाँले बताउनुभयाे।
विद्यालयमा अध्ययन गरेर घर फर्किने क्रममा बालक अचानक सडकमा बगिरहेको ठूलो भलको चपेटामा परेका थिए। भीषण वर्षापछि सडकभरी तीव्र गतिको भेलले बालकलाई तानेर सडक किनारको ठूलो ठाडो छाँगाबाट तल खसालेको थियो। छाँगाबाट तल खसालेपछि गम्भीर चोट लागेका बालकको घटनास्थलमै निधन भएको वडा अध्यक्ष सुनुवारले बताउनुभयाे ।
सुशान्त विद्यालयकै नजिकै गहिरी खर्क भन्ने स्थानमा रहेकाे आफ्नै मामाघरमा बस्दै आएकाे समेत उहाँले जानकारी दिनुभएकाे छ ।









प्रतिक्रिया दिनुहोस्