ओखलढुंगा। ओखलढुंगाको माथिल्लो भू-भागका किसानहरुलाई यतिबेला परम्परागत बुङ प्रविधिबाट उत्पादन गरिएको अर्ग्यानिक आलु भित्र्याउन चटारो रहेकाे छ ।

मंसिरदेखि काँडा फाड्ने, चपरी सुकाउने, आगो लगाएर बुङ बनाउने र फागुनमा आलु रोपेर साउन-भदौमा खन्ने किसानले उत्पादन सोचे जस्तो नभए पनि उचित मूल्य पाउने आशा गरेका छन् । स्थानीय सरकार र सरोकारवाला निकायले बजारीकरण र भण्डारणको उचित व्यवस्थापन गर्न आवश्यकता रहेकाे देखिन्छ। यदि व्यवस्थापन भएकाे खण्डमा लेकाली किसानको यो पसिनाको सही रुपमा मूल्यांकन हुने थियाे।
ओखलढुंगाको लेकाली क्षेत्रमा परम्परागत रूपमा बुङ प्रविधिबाट आलु खेती गर्ने गरिन्छ । मंसिर महिनादेखि नै बाँझिएका पाखामा झाडी फाँडेर, झारपातको चपरी खनेर र त्यसलाई सुकाएपछि पोलेर मल तयार गरी फागुनमा आलु रोप्ने गरिन्छ । यसरी पाखैभरी माटोको ढिस्कोलाई थुम्का-थुम्का बनाएर रोपिएको आलुलाई बुङ आलु भनिन्छ । यहि आलु खन्न यहाँका किसानको चटारो अहिले बढेको हो ।

विशेषगरी ठाडे जन्तरखानी क्षेत्रका किसानहरुलाई साउन लागेसँगै बुङ आलु खन्ने र भित्र्याउने चटारो छ । बुङ आलु खेती गर्न मंसिरदेखि साउनसम्म लगातार मिहिनेत गर्नुपर्छ । त्यसमाथि असिनापानी, दुम्सी, मृग र चराचुरुङ्गीले बालीमा क्षति गर्ने गर्छन् । जसका कारण अघिल्लो वर्षको तुलनामा यसपाली आलुको उत्पादन घटेको हाे। तर, उत्पादन घटेता पनि उचित मूल्य पाउने आशामा रहेकाे किसानहरुकाे भनाइ छ।

अहिले किसानले बुङ आलुको सुरुवाती मूल्य पाथीको २ सय ५० रुपैयाँ र किलोको १ सय रुपैयाँसम्म पाएका छन् । ओखलढुंगामा उत्पादित यो आलु काठमाडौं र तराईका जिल्लाहरूमा निर्यात हुने गर्छ । कामदारको ज्याला, बजारको महँगी र वर्षभरिको मेहनतको तुलनामा मूल्य अझै पर्याप्त नभएको किसान स्थानीय किसान राजु मगरले गुनासाे गर्नुभयाे।

बुङ आलु अर्ग्यानिक आलु भएका कारण यसले गत पुसतिरै अर्ग्यानिक प्रमाणिकरण समेत प्राप्त गरिसकेको छ । सिद्धिचरण नगरपालिका र सहास नेपालको संयुक्त प्रयासमा अर्ग्यानिक सर्टिफिकेसन नेपालले बुङ आलुलाई ‘प्राङ्गारिक उत्पादन’ को प्रमाणपत्र दिएको थियो । जन्तरखानीको सेतीदेवी अगुवा आलु खेती कृषक समूहमा आबद्ध ७ वटा समूहका २ सय २१ जना कृषकहरूले ५९ दशमलव ९ हेक्टर क्षेत्रफलमा उत्पादन गरेको ६१ दशमलब ८ टन बुङ आलु निरीक्षण गरिएपछि यो मान्यता दिइएको थियो । तर, गाउँमा काम गर्ने कृषि मजदुरको अभाव र महँगो ज्यालादारीका कारण बुङ आलुको लागत भने दिनप्रतिदिन बढ्दै गएको हाे।

वैकल्पिक पेशा नहुँदा स्थानीयहरू सास्ती खेपेरै भए पनि वर्षौंदेखि परम्परागत बुङ आलु खेतीलाई निरन्तरता दिन बाध्य भएका छन् । अर्ग्यानिक प्रमाणपत्र पाएपछि यो आलुले राष्ट्रिय बजारमा थप पहिचान पाएको हाे । स्थानीय सरकार र सरोकारवाला निकायले बजारीकरण र भण्डारणको उचित व्यवस्था गर्न आवश्यक रहेकाे छ। यदि उचित व्यवस्थापन भएकाे खण्डमा लेकाली किसानको पसिनाको सही रुपमा मूल्यांकन हुने थियाे।
विस्तृतमा भिडियाे रिपोर्ट हेर्नुहाेस्:









प्रतिक्रिया दिनुहोस्