काठमाडाैं। संघीय राजधानी काठमाडौंलाई हेटौंडासँग जोड्ने सबैभन्दा छोटो मार्गको रूपमा रहेको कान्ति राजमार्गको स्तरोन्नति कार्यले तीब्रता पाएको छ ।
राजमार्गलाई फराकिलो बनाउने, कटिङ गर्ने र मोड सुधार गर्ने कार्यका लागि कान्ति राजमार्ग सडक योजनाले तीन खण्डमा विभाजन गरी निर्माण प्रक्रिया अगाडि बढाएको हाे। यस राजमार्गको कूल लम्बाई ८० किलोमिटर रहेको छ । हेटौंडाको बुद्ध चोकदेखि ललितपुरको एकान्तकुनासम्म फैलिएको यस सडकको मकवानपुर खण्डमा ५० किलोमिटर र ललितपुर खण्डमा ३० किलोमिटर पर्दछ । योजनाका इन्जिनियर उपेन्द्र महारानकाअनुसार हाल ललितपुरको लेलेदेखि मकवानपुरको बकैयासम्मको २१ किलोमिटर खण्डको स्तरोन्नति कार्य धमाधम भइरहेको छ ।
लेले–बकैया खण्डको स्तरोन्नति तथा पहिरो नियन्त्रणका लागि २०८२ साल जेठ २१ गते ठेक्का सम्झौता भएको थियो । इन्जिनियर महारानले हालसम्म यस खण्डको भौतिक प्रगति करिव ५० प्रतिशत पुगेको जानकारी दिनुभयो । यसअघिको अभिलेखमा ४ किलोमिटर मात्र कालोपत्रे गर्ने उल्लेख भएपनि हाल बाढी–पहिरो नियन्त्रणसहितको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार काम भइरहेको योजनाले जनाएको छ । बढी भिरालो र पानी जम्ने (वाटर लगिङ) क्षेत्रहरूमा रिजिड पेभमेन्ट (सिमेन्ट कङ्क्रिट) र बाँकी भागमा अस्फाल्ट कालोपत्रे गर्ने योजना रहेको हाे।
निर्माणको जिम्मा पाएको कन्काई–ब्राइट मल्टि–दिव्यज्योति जेभीका सञ्चालक राजकुमार बुढाथोकीले विपद्जन्य योजना भएकाले जोखिमयुक्त क्षेत्रहरूलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । हाल सडक खण्डमा प्लम वाल, ग्याबिन जाली लगाउने र कटिङ गर्ने कार्य भइरहेको छ । आउने वर्षमा रोड सेफ्टी लगायतका काममा लागेको बताउनु भयो । उहाँले वर्षैपिच्छे ठूलो पहिरो आएर गाडीहरु रोकिरहने समस्या रहेको बताउनुभयो । सबै कुरा सहज भएको अवस्थामा भुक्तानी, निर्माणजन्य कुराहरु र बिटुमिन लगायतका सामग्री सबै आवश्यक जति पाइए र सरकारले निर्माण कार्यको वातावरण बनाए समयमै काम सकिने जिकिर गर्नुभएकाे छ।
सञ्चालक बुढाथोकीले वर्षायाममा यी क्षेत्रमा पहिरो जाँदा यातायात अवरुद्ध हुने गरेकाले यस पटक पहिरो नियन्त्रणका लागि विशेष कार्य भइरहेको बताउनुभयाे। निर्माण व्यवसायीले आगामी वर्षभित्र रिजिड पेभमेन्ट, ब्ल्याक टप (कालोपत्रे) र सडक सुरक्षाका लागि बायो–इन्जिनियरिङका कामहरू सक्ने लक्ष्य राखेको छ । २०८२ जेठ २१ गतेसम्मको समयसीमा रहेको यस आयोजनामा कुनै अवरोध नभए निर्धारित समयमै काम सम्पन्न हुने निर्माण कम्पनीले दावी गरेकाे हाे ।
निर्माण व्यवसायीहरुले राज्यका तर्फबाट समयमै भुक्तानी, बिटुमिन तथा इन्धनको सहज आपूर्ति र मूल्य वृद्धिको सम्बोधन भएमा काम गर्न थप सहज हुने उल्लेख गरेका छन् । राजधानी जोड्ने यो वैकल्पिक मार्ग पूर्ण रूपमा सञ्चालनमा आएपछि काठमाडौं र हेटौंडाबीचको यात्रा सहज र छोटो हुने अपेक्षा गरिएको हाे।









प्रतिक्रिया दिनुहोस्