Logo २४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026


विश्व आदिवासी दिवस आज विविध कार्यक्रम गरी मनाइँदै


91
Shares

काठमाडाैं । विश्व आदिवासी दिवसका अवसरमा आइतबार विविध कार्यक्रमकाे आयाेजना गरी मनाइँदैछ ।

विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको संरक्षण तथा उनीहरूका समस्याबारे विश्वव्यापी चेतना अभिवृद्धि गर्ने उद्देश्यसहित यस वर्षपनि दिवस मनाउन लागिएको हो । सन् १९९४ डिसेम्बर २३ तारिखमा संयुक्त राष्ट्रसंघको महासभाले हरेक वर्ष अगस्ट ९ तारिखलाई विश्व आदिवासी दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।

संयुक्त राष्ट्रसंघका अनुसार विश्वका ९० देशमा करिब ४७ करोड ६० लाख आदिवासी जनजाति बसोबास गर्छन् । उनीहरू विश्वको कूल जनसंख्याको ६ प्रतिशत भन्दा कम भए पनि विश्वका सबै भन्दा गरिब मध्ये कम्तीमा १५ प्रतिशत आदिवासी समुदायका रहेका छन् । पहिचान, परम्परागत जीवनपद्धति तथा पुर्ख्यौली भूमि, क्षेत्र र प्राकृतिक स्रोत-साधनमाथिको अधिकारको मान्यताका लागि आदिवासी समुदायले लामो समयदेखि संघर्ष गर्दै आएका हुन् ।

इतिहासका विभिन्न कालखण्डमा उनीहरूको अधिकार उल्लंघन हुँदै आएको र अहिले पनि उनीहरू विश्वका सबै भन्दा पछाडि पारिएका तथा जोखिममा रहेका समुदायमध्ये रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । आदिवासी जनजातिको अधिकार संरक्षण र उनीहरूको विशिष्ट संस्कृति तथा जीवनपद्धतिको निरन्तरताका लागि विशेष उपाय आवश्यक रहेको अन्तरराष्ट्रिय समुदायले स्वीकार गर्दै आएको हाे ।

साेही अवसरमा आदिवासी जनजातिको अधिकार, संस्कृति, भाषा, परम्परागत ज्ञान तथा प्राकृतिक स्रोतसँगको सम्बन्धको संरक्षण र उनीहरूको निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागितामा जोड दिने गरिएको छ ।