
प्रकाश धौलाकोटी (इमेज)
तेह्रथुम, असोज १३ । जिल्ला अस्पताल तेह्रथुममा प्रसूति गराउन आएकी एक २० वर्षीया महिलालाई बलात्कार गर्न खोजेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।
प्रहरीले मोरङको कानेपोखरी गाउँपालिका–३, वयरवनका ३० वर्षीय ‘दिलीप’ भनिने दिपेश कार्कीलाई पक्रेको हो ।
उनीविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गरी म्याद थप गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
कार्कीमाथि बिहीबार शल्यक्रियाबाट प्रसूति गराइ वार्डमा रहेकी एक महिलालाई राति १० बजेतिर शौचालय गएको मौकाछोपी जबर्जस्ती करणीको प्रयास गरेको आरोप लागेको छ ।
कार्कीले आफू अस्पतालको डाक्टर भएको र घाउ सफा गरिदिने भन्दै झुक्याएर गोप्य अंगहरुमा हात पुर्याएपछि आफूले प्रतिकार गरेको ती महिलाले बताएकी छन् ।
प्रहरीले कार्कीलाई बिहीबार राति नै पक्राउ गरेको थियो ।
शुक्रबार उनीविरुद्ध जबर्जस्ती करणी उद्योग अपराधमा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको डीएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्