एजेन्सी । बंगलादेशमा दशकौंमा सबै भन्दा घातक दादुरा प्रकोपले सयौं बालबालिकाको ज्यान लिएको छ ।
जसले विपन्न परिवारहरूमा गम्भीर आर्थिक असर पारेको सहायता समूहहरूले चेतावनी दिएका हुन् । स्वास्थ्य विभागको तथ्यांक अनुसार गत मार्च १५ देखि अगस्टको शुरुसम्मको करिब ५ महिनामा दादुरा प्रभावित ८ सय ४४ जना बालबालिकाको ज्यान गएको छ । अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट समाजहरूको महासंघ (आइएफआरसी) र बंगलादेश रेडक्रिसेन्ट सोसाइटीका अनुसार दादुराबाट प्रभावित १० मध्ये ९ परिवारले उपचार खर्च धान्न ऋण लिन बाध्य भएका थिए ।
सर्वेक्षण गरिएका परिवारमध्ये ३५ प्रतिशतलाई औषधिको खर्चका लागि आर्थिक सहयोग उपलब्ध गराइएको र २२ प्रतिशतलाई खाना उपलब्ध गराइएको थियो । अधिकांश प्रभावित परिवार गरिब समुदायका रहेको र उनीहरू अनौपचारिक काममा निर्भर रहेका पाइएको छ । धेरै हेरचाहकर्ताहरूले बिरामी बच्चाको हेरचाह गर्न लामो समय अस्पतालमै बस्नुपरेका कारण जागिर गुमाएको बताएका हुन् ।
दादुरा अत्यन्त सङ्क्रामक रोग हो । जुन खोकी र हाच्छ्युँमार्फत फैलिन्छ । दादुरा रोग जोसुकैलाई लाग्न सक्छ तर बालबालिकामा सबै भन्दा बढी देखिन्छ ।









प्रतिक्रिया दिनुहोस्