Logo १८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026


विश्व फुटबल महासंघका अध्यक्ष इन्फान्टिनोको पद संकटमा


299
Shares

काठमाडाैं । आफ्ना प्रतियोगिताहरूमा आंशिक रूपमा निजी लगानी भित्र्याउने विवादित प्रस्ताव अघि सारेपछि विश्व फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोको पद संकटमा परेको छ ।

सबैलाई जानकारी नदिई ल्याइएको योजनाको सर्वत्र विरोध भएपछि अध्यक्ष इन्फन्टिनोले प्रस्ताव फिर्ता लिएकाे हाे । तर युरोपेली फुटबलको नियामक निकाय (यूईएफए) सहितका साझेदारहरूको आक्रोश थामिएको छैन । यूईएफएले विश्वकपसहितका फिफा प्रतियोगिता बहिष्कार गर्ने धम्की दिँदै अध्यक्ष इन्फन्टिनोप्रति विश्वास हराएको स्पष्ट पारेको छ । उत्तर तथा मध्य अमेरिकी महासंघ (कन्काकाफ) ले फिफा नेतृत्वको समग्र समीक्षा हुनुपर्ने माग गरेको हाे । अध्यक्ष इन्फान्टिनोका २ जना वरिष्ठ सल्लाहकारले समेत उनको साथ छाेडेका छन् ।

अहिले यूईएफए इन्फान्टिनोलाई पदबाट हटाउने अन्तिम मौकाको पर्खाइमा छ । इन्फान्टिनोलाई हटाउन फिफा काउन्सिलको आकस्मिक बैठक डाक्ने वा २११ सदस्यीय फिफाको असाधारण कंग्रेस बोलाएर अविश्वासको प्रस्ताव ल्याउने विकल्पहरू छन् । अविश्वासको प्रस्ताव पारित हुन करिब १ सय ६ देशको समर्थन आवश्यक पर्छ । यद्यपि आउँदो मार्चमा हुने चुनावअघि नै इन्फन्टिनोले कतार, मोरोक्को र इजिप्टजस्ता देशहरूको समर्थन फिर्ता बटुल्ने प्रयास शुरू गरिसक्नुभएको छ ।

अबको केही हप्तामा यूईएफएले अध्यक्ष इन्फन्टिनोलाई राजीनामा दिन बाध्य पार्छ या उनले आफ्नो पद जोगाउनुहुन्छ भन्ने विषयले विश्व फुटबल तरंगित बनेको हाे ।