काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अगामी स्थानीय तह निर्वाचनमा विपक्षीलाई हराउने मात्र नभई ‘धोवीपाठ’ पछार्ने गरी तयारीमा जुट्न जनप्रतिनिधिहरुलाई निर्देशन दिनुभएको छ ।
शुक्रवार काठमाडौंमा आयोजित नेकपा (एमाले)को राष्ट्रिय जनप्रतिनिधि भेलाललाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो निर्देशन दिनुभएको हो । उहाँले अगामी स्थानीय तह निर्वाचनमा जित सुनिश्चित हुनेगरी कार्यसम्पादन गर्न समेत निर्देशन दिनुभयो । उहाँले विगतमा विभिन्न कारणले जनतासँग टुटेको सम्बन्ध फेरी जोड्नुपर्ने बताउनुभयो ।
उहाँले निर्वाचनका सम्बन्धमा संविधानमा भएको व्यवस्थाभन्दा बाहिर जान नदिने समेत उहाँको जिकिर छ । स्थानीय तहको निर्वाचन अगामी बैशाख अन्तिममा र मंसिरमा प्रदेश तहको निर्वाचन हुनुपर्ने उहाँको भनाइ छ । उहाँले सोही कार्यतालिकाअनुसार निर्वाचनको तयारीमा जुट्न समेत नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।
उहाँले भन्नुभयो, ‘यसपालीको निर्वाचनमा हामीले पछार्ने मात्रै होइन । यस पटक धोवीपाठ पछार्नुपर्छ । त्यो तयारीका साथ, त्यो आत्मविश्वासका साथ गाउँमा जाऔँ । जनतासँग टुटेको सम्बन्धलाई फेरी जोडौँ, सम्बन्ध विकास गरौँ ।’
उहाँले निर्वाचनलाई निष्पक्ष, पारदर्शी र धाँधलीरहित वातावरणमा सम्पन्न गर्न जनतालाई समेत साथमै लिएर अघि बढ्नुपर्ने समेत बताउनुभयो ।









प्रतिक्रिया दिनुहोस्