Logo १३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026


रामेछापमा आत्महत्या र भवितव्य ज्यानका घटना बढी, घरेलु हिंसा अधिकांश मुद्दामा मिलापत्र


65
Shares

रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले गत आर्थिक वर्ष २०८२/०८३ को समग्र शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सेवा प्रवाहसम्बन्धी प्रगति विवरण सार्वजनिक गरेको छ ।

बुधबार जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममार्फत प्रहरीले वर्षभरिको एकीकृत तथ्याङ्क सार्वजनिक गरेको हो ।

सार्वजनिक विवरण अनुसार गत आर्थिक वर्षमा रामेछाप जिल्लाभर कुल १ सय ७९ वटा विभिन्न प्रकृतिका मुद्दा दर्ता भएका छन्। दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी दुर्घटना तथा आत्महत्या सम्बन्धी रहेका छन्। जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता तथा प्रहरी निरिक्षक कमल राउतले सार्वजनिक गरेको विवरण अनुसार ३७ जनाले झुन्डिएर र १० जनाले विष सेवान गरि आत्मा गरेका छन् ।

यस्तै, लागुऔषध सेवनका २८ मुद्दा, बैंकिङ कसुरका २२ मुद्दा, जबरजस्ती करणी उद्योगका १० मुद्दा, भवितव्य ज्यानमा २८ मुद्दा र जबरजस्ती करणीका २ वटा मुद्दा दर्ता भएको रामेछाप प्रहरीले जनाएको छ। बैंकिङ कसुरतर्फ दर्ता भएका २२ मुद्दामध्ये १५ वटा फर्छ्यौट भइसकेका छन् भने ७ वटा अझै अनुसन्धानको क्रममा रहेका छन् ।

यसैगरी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमार्फत वर्षभरि ६७ जना हराएका व्यक्तिको खोजतलास गर्दा ६४ जना फेला परेका छन् भने ३ जना अझै सम्पर्कविहीन रहेका छन्। घरेलु हिंसासम्बन्धी परेका ११ उजुरीमध्ये ९ वटामा मिलापत्र गराइएको छ भने २ वटा मुद्दा थप प्रक्रियाका लागि जिल्ला अदालत रामेछाप पठाइएको छ।

कार्यक्रममा बोल्दै रामेछापका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक (DSP) सन्तुलाल प्रसाद जैसवारले जिल्लामा हुने अपराध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण र समुदाय-प्रहरी साझेदारीलाई थप प्रभावकारी बनाइने बताउनुभयो। उहाँले पछिल्लो समय चुनौतीका रूपमा देखिएका बैंकिङ कसुर, साइबर अपराध र आत्महत्या न्यूनीकरणका लागि विशेष जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो।