Logo १२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026


सिरियामाथि लगाइएका सम्पूर्ण प्रतिबन्ध हटाउन र पुनर्निर्माणमा सहयोग गर्न संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसको आह्वान


13
Shares

एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सिरियामाथि लगाइएका सम्पूर्ण बाँकी प्रतिबन्धहरू तत्काल हटाउन र देशको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउन आह्वान गर्नुभएको छ ।

सिरियाको दुई दिने भ्रमण सम्पन्न गर्ने क्रममा राजधानी दमास्कसमा आयोजित पत्रकार सम्मेलनलाई सम्बाेधन गर्दै महासचिव गुटेरेसले यस्तो आग्रह गर्नुभएको हो । उहाँले अन्तर्राष्ट्रिय समुदायलाई पूर्वाधार, शिक्षा, स्वास्थ्य र जीविकोपार्जनका क्षेत्रमा लगानी गर्दै सिरियाको पुनरुत्थानमा सघाउन अपिल गर्नुभयो । साथै, शरणार्थीहरूको सुरक्षित, स्वैच्छिक र सम्मानजनक फिर्तीका लागि आवश्यक वातावरण निर्माण गर्न प्रयासहरू तीव्र पार्नुपर्नेमा उहाँले जोड दिनुभएकाे छ।

महासचिव गुटेरेसले सिरियामा संक्रमणकालीन न्याय, राष्ट्रिय मेलमिलाप, संवैधानिक सुधार र स्वतन्त्र एवं निष्पक्ष निर्वाचनको तयारीसहितको बृहत् राजनीतिक संक्रमणलाई अगाडि बढाउन संयुक्त राष्ट्रसंघ सहयोग गर्न तयार रहेको प्रतिवद्धता समेत दोहोर्‍याउनुभयो । उहाँले प्रतिवन्धहरू खुकुलो पार्ने र आर्थिक सुधारका मार्ग प्रशस्त गर्ने हालैका कदमहरूको स्वागत गर्दै बाँकी रहेका सबै प्रतिवन्धहरू तुरुन्त हटाउनुपर्ने माग गर्नुभयो ।

महासचिव गुटेरेसले सरकारसँगको भेटवार्ताका क्रममा शरणार्थी र आन्तरिक रूपमा विस्थापित व्यक्तिहरूको प्रभावकारी पुनः एकीकरण सुनिश्चित गर्ने कार्ययोजनालाई प्राथमिकतामा राख्नुपर्ने स्पष्ट भएको बताउनुभएकाे छ । यस प्रक्रियामा अन्तर्राष्ट्रिय समुदायको बलियो समर्थन आवश्यक रहेको र सिरियाको संक्रमणकालीन अवस्थामा सहयोग गर्नु विश्व समुदायकै हितमा हुने उहाँले बताउनुभयाे । सन् २००९ यता संयुक्त राष्ट्रसंघका महासचिवबाट भएको यो पहिलो दमास्कस भ्रमण हो ।

भ्रमणका क्रममा महासचिव गुटेरेसले सिरियाका अन्तरिम नेता अहमद अल–शरा, विदेश प्रमुख असाद अल–शैबानी र अन्य वरिष्ठ अधिकारीहरूका साथै नागरिक समाज, महिला तथा युवा समूह र विभिन्न समुदायका प्रतिनिधिहरूसँग भेटवार्ता गर्नुभएको छ ।