काठमाडौं । ‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’ को औपचारिक रुपमा साेमबार उद्घाटन गरिएको छ ।
सोमबार एक विशेष कार्यक्रमको आयोजना गरी पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिको र नेपालका लागि जापानी राजदूत माएदा तोरु, पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, सडक विभागका महानिर्देशक डा. विजय जैसीले संयुक्त रुपमा रिबन काटेर सुरुङ मार्गको उद्घाटन गरेका हुन् । सुरुङमार्ग उद्घाटनका क्रममा व्राह्मणहरुले स्वस्तिवाचनसहित पूजापाठ समेत गरेका थिए ।
उद्घाटन कार्यक्रममा मन्त्री लम्सालले नेपालतर्फको शिलालेखको अनावरण तथा जापानी राजदूत र जाइकाका अध्यक्षबाट संयुक्त रुपमा जापानतर्फको शिलालेखको अनावरण समेत गरेका छन् । उद्घाटनसँगै नेपालकै पहिलो सुरुङमार्ग सञ्चालनमा आएको हाे। उद्घाटनपछि मन्त्री लम्सालसहितको टोलीले सुरुङ मार्गको यात्रा पनि गरेकाे छ। जाइकाको सहुलियतपूर्ण ऋण र नेपाल सरकारको संयुक्त लगानीमा सुरुङमार्गको निर्माण सम्पन्न भएको हो । यस आयोजनाको कूल लागत करिब १९ अर्ब रुपैयाँ रहेको छ ।
मुख्य सुरुङको लम्बाई २ दशमलव ६८ किलोमिटर रहेको छ । यद्यपि सुरुङभित्रको निकास मार्ग (इभ्याकुएसन टनेल) र क्रस–प्यासेजहरू समेत गणना गर्दा कूल सुरुङको लम्बाई करिव ५ दशमलव ५ किलोमिटर पुग्छ । जापानी निर्माण कम्पनी ‘हाज्मा आन्दो कर्पोरेसन’ ले २०७६ सालदेखि यस आयोजनाको निर्माण शुरु गरेको थियो । सुरुङ मार्गमा तत्कालको लागि एम्बुलेन्स, दमकल र सुरक्षा निकायका आकस्मिक सवारी साधनलाई मात्र सुरुङमा प्रवेश दिने सडक विभागका महानिर्देशक डा. विजय जैशीले जानकारी दिनुभयो । सुरुङमार्गलाई चरणवद्ध रूपमा पूर्ण सञ्चालनमा ल्याइनेछ । उहाँले सुरुङ परिक्षणको क्रममा कुनै शुल्क लिइनेछैन भने परिक्षणको क्रम सकिएपछि सवारी साधानको प्रकार अनुसार शुल्क लिइने बताउनुभयाे ।
सडक विभागले कार र भ्यानले काठमाडौं भित्रिँदा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ शुल्क तिर्नुपर्ने जनाएकाे हाे । मिनीबस, ट्रक र टिपरले काठमाडौंतर्फ आउँदा १ सय १५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ बराबरको शुल्क बुझाउनुपर्नेछ । त्यस्तै, बस, ट्रकले काठमाडौं आउँदा २ सय ६० रुपैयाँ र बाहिरिँदा २ सय रुपैयाा बराबरको शुल्क तिर्नुपर्नेछ । सुरुङमार्गमा मोटरसाइकल र प्रज्वलनशील एवं विस्फोटक पदार्थ बोकेका सवारी साधनलाई भने गुड्न निषेध गरिएको छ । त्यस्तै, पैदलयात्री, दुई पाङ्ग्रे, तीनपाङ्ग्रे सवारीले सुरुङमार्ग प्रवेश पाउने छैनन् ।
आयोजनामा मुख्य एवं उद्धार गरी दुई वटा सुरुङमार्ग छन् । मुख्य सुरुङमा सवारीसाधन सञ्चालन हुने भएकाे हाे। उद्धारकार्यमा उद्धार सुरुङ प्रयोग हुने भएकाे छ। काठमाडौँको चन्द्रागिरि नगरपालिका–१ दहचोक टोटीपाखाबाट शुरु हुने सुरुङमार्ग पश्चिमतर्फ धादिङको धुनिबेँसी नगरपालिकाको सिस्नेखोलामा टुङ्गिने विभागले जनाएकाे हाे ।



















प्रतिक्रिया दिनुहोस्