काठमाडौं। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत एमबिएस प्रथम सत्रको परीक्षाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानूनी कारबाही गरिने बताउनुभएकाे छ।
मन्त्रालयमा आइतबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री पोखरेलले सोही घटनामा संलग्न दुई जनालाई नेपाल प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जानकारी दिनुभएकाे हाे। उहाँका अनुसार प्रश्नपत्र सार्वजनिक भएको जानकारी प्राप्त हुनासाथ गृहमन्त्रालय र नेपाल प्रहरीसँग समन्वय गरी तत्काल निगरानी बढाइएको थियो ।
मन्त्री पोखरेलले विगतमा पनि यस्ता घटना दोहोरिएका उल्लेख गर्दै यसपटक तत्कालै कारबाही प्रक्रिया अघि बढाइएको र सुशासन विरोधी गतिविधिमा संलग्न जोसुकैलाई कानुनबमोजिम कारबाही गरिने स्पष्ट पार्नुभएकाे छ। घटनाको विस्तृत अनुसन्धनपछि सत्यतथ्य सार्वजनिक गरिने उहाँकाे दावी थियाे । प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले दुई जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।
यहि साउन ८ गते सञ्चालन भएको एमबिएस प्रथम सत्रको ‘अर्गनाइजेशनल बिहेबियर’ विषयको परीक्षा शुरु भएको केही मिनेटमै प्रश्नपत्र सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।









प्रतिक्रिया दिनुहोस्