काठमाडाैं । प्रजातान्त्रिक पार्टी नेपालले संवैधानिक राजसंस्था, वैदिक सनातन हिन्दु राष्ट्र र भ्रष्टाचारमुक्त शासन व्यवस्थाको माग गर्दै भदौको अन्तिम सातादेखि सडक आन्दोलनमा उत्रिने तयारी गरेको छ ।
आइतवार राजधानीमा बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको पार्टी अध्यक्ष डा. तारानाथ लुइँटेलले जानकारी दिनुभयो । उहाँकाअनुसार पार्टी केन्द्रिय समितिको बैठकबाट आन्दोलनको औपचारिक निर्णय गरिनेछ । उहाँले बैठकमा संवैधानिक राजसंस्था, वैदिक सनातन हिन्दु राष्ट्र, स्वायत्त शासन प्रणाली तथा भ्रष्टाचार नियन्त्रणका विषयमा गम्भीर रुपमा छलफल भएको पनि बताउनुभयो ।
अध्यक्ष लुइँटेलले प्रमुख राजनीतिक दलहरू नेपाली काग्रेस, नेकपा (एमाले), नेकपा तथा प्रधानमन्त्री बालेन्द्र साहले विदेशीले बोकाइदिएको भारी बोकिरहेको आरोप लगाउनु भयो । उहाँले मुलुकमा सुशासन कायम गर्न भ्रष्टाचारविरुद्ध भइरहेको कारबाही प्रभावकारी हुन नसकेको पनि बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘कार्य सम्पादन समितिको बैठकमा हाम्रो एजेन्डाहरु संवैधानिक राजसंस्था, वैदिक सनातन हिन्दु अधिराज्य नेपाल र भ्रष्टाचार मुक्त नेपाल र स्वायक्त शासन प्रणाली स्थापना गर्ने विषयमा छलफल ग¥यौं । एक–दुई वटा एउटा स्थानीय सरकार र केन्द्रिय सरकारले यो मुलुकलाई विदेशीको आडमा, विदेशीको पछौटेपनाले, विदेशीले अराएको भराएको काम गरेका छन् । यी नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा साथै जेन–जी आन्दोलनबाट आएका बालेनजीहरुले विदेशीले बोकाइदिएको भारी बोकेका हुन् ।
बरबरा फाउन्डेसनको कारण हामीले यो अवस्था भोग्नुपरेको छ । दलाई लामालाई स्थापित गर्न तथा युरेनियम बेच्नका लागि खेल भइरहेको देखिएको छ । यसको विरोधमा प्रजातान्त्रिक पार्टी नेपालले सडक आन्दोलन गर्नुपरेको कारण छिट्टै केन्द्रिय समितिको बैठक बोलाएर भदौको अन्तिममा सडक आन्दोलनमा जाने निर्णय गर्नको लागि हामीले बैठक बोलाएका हौँ । बैठकको निर्णय नै संवैधानिक राजसंस्था, वैदिक सनातन हिन्दु अधिराज्य नेपाल र सर्वधर्म समभाव पूर्ण धार्मिक स्वतन्त्र सहितको वैदिक सनातन हिन्दु राष्ट्र नै हो ।
भ्रष्टाचारीहरुलाई समात्ने, थुन्ने अनि छोड्ने क्रियाकलापले मुलुक अगाडि जान सक्दैन । यसलाई रोक्नुपर्छ भन्ने प्रजातान्त्रिक पार्टी नेपालको धारणा हो । त्यसकारण यी नै एजेण्डामा खरो रुपमा आन्दोलित हुनको लागि बैठक बोलाएका हौँ ।’ उहाँले भ्रष्टाचार नियन्त्रण, संवैधानिक राजसंस्था, वैदिक सनातन हिन्दु राष्ट्र तथा धार्मिक स्वतन्त्रतासहित सर्वधर्म समभावको बर्खा सकिने बित्तिकै पार्टी आन्दोलनमा उत्रिने बताउनु भयो ।









प्रतिक्रिया दिनुहोस्