काठमाडाैं । दक्षिण एशियाली फुटबल महासंघ (साफ) ले १५औं संस्करणको साफ च्याम्पियनसिपको आधिकारिक लोगो सार्वजनिक गरेको छ ।
प्रतियोगिता आयोजनाको तयारी अन्तर्गत बङ्गलादेशको राजधानी ढाकामा शनिबार आयोजित एक विशेष कार्यक्रममा साफ च्याम्पियनसिपको लोगो अनावरण गरिएको हो । दक्षिण एशियाकै प्रतिष्ठित फुटबल प्रतियोगिता आगामी कात्तिक १८ देखि मंसिर १ गतेसम्म बङ्गलादेशको ढाकामा आयोजना हुने भएकाे छ। साफले यसअघि नै प्रतियोगिताको मिति र आयोजक राष्ट्रको औपचारिक घोषणा गरिसकेको हाे।
यसैबीच साफका महासचिव पुरुषोत्तम कट्टेलले फिफा विश्वकप २०२६ सम्पन्न भएलगत्तै साफ च्याम्पियनसिपको तयारी अघि बढ्नु साफ समर्थकका लागि उत्साहजनक भएको बताएका छन् । प्रतियोगितामा सहभागी हुने टोली निर्धारणका लागि गरिने गोलाप्रथा यहि साउन १६ गते भुटानको राजधानी थिम्पुमा आयोजना गरिने साफले जनाएको हाे ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाको निलम्बनका कारण साफ च्याम्पियनसिपमा नेपालको सहभागिता भने अनिश्चित छ । फिफाबाट अखिल नेपाल फुटबल संघ (एन्फा) निलम्बित रहेकाले नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता हुन नपाउने भएकाे हाे।
प्रतियोगिता शुरु हुनुअघि निलम्बन फुकुवा भएमा मात्र नेपाली टोलीले साफ च्याम्पियनसिप खेल्न पाउने सम्भावना रहने छ । अहिलेसम्म प्रतियोगिताका १४ संस्करण सम्पन्न हुँदा भारत सर्वाधिक ९ पटक च्याम्पियन बनेको हाे।









प्रतिक्रिया दिनुहोस्