Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


न्यूजिल्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ


0
Shares

काठमाडौं ।

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी न्यूजिल्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ तारकेश्वर नगरपालिका–१० बस्ने रूपन्देही घर भएका ५१ वर्षीय राजकुमार भण्डारी र काठमाडौँ बुढानिलकण्ठ नगरपालिका–१२ बस्ने ओखलढुङ्गा घर भएका २९ वर्षीय सुरेश घिमिरेलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउमध्ये राज कुमारले न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट रु तीन लाख र सुरेशले पोर्चुगल पठाइदिन्छु भन्दै एक जना पीडितबाट रु १८ लाख लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले राज कुमारलाई काठमाडौँ तारकेश्वर नगरपालिका–१० बाट र सुरेशलाई काठमाडौँ महानगरपालिका–७ बाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

Skip This