Logo ८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026


हर्मुज जलमार्गलाई लिएर बढ्दो तनावसँगै अमेरिका र इरानबीचको सैन्य द्वन्द्व उत्कर्षमा

तेलको मूल्य प्रतिब्यारेल १ सय अमेरिकी डलर नाघ्याे

13
Shares

एजेन्सी। हर्मुज जलमार्गलाई लिएर बढ्दो तनावकाबीच अमेरिका र इरानसँगै सैन्य द्वन्द्व झनै उत्कर्षमा पुगेकाे छ।

अमेरिकी सेनाले बिहीबार इरानमाथि लगातार १३औँ रात पनि हवाई आक्रमण गरेको जनाएको हाे। अमेरिकी सेन्ट्रल कमान्डले पछिल्ला आक्रमणको उद्देश्य इरानको त्यस्तो सैन्य क्षमता कमजोर बनाउनु रहेको जनाएको छ। जसबाट उसले क्षेत्रीय जलमार्ग हुँदै आवतजावत गर्ने व्यावसायिक जहाज तथा सर्वसाधारण नाविकहरूलाई खतरा पुर्‍याइरहेको अमेरिकाको दावी छ। अमेरिकाले होर्मुज जलमार्ग हुँदै हुने अन्तर्राष्ट्रिय जलयातायात सुरक्षित र निर्वाध बनाउन कारबाही जारी राखिएको जनाएको हाे ।

अमेरिकी आक्रमणपछि इरानका सरकारी सञ्चारमाध्यमहरूले हर्मुज जलमार्ग नजिकैको बन्दर अब्बास र केश्म द्वीप आसपास विस्फोट भएको जानकारी दिएका छन् । त्यसैगरी उत्तर–पश्चिमी क्षेत्र एन्दिमेश्क र ओमिदियेह आसपास पनि विस्फोट भएको खबर सार्वजनिक भएको हाे । यद्यपि, ती घटनाबाट भएको क्षतिको आधिकारिक विवरण भने सार्वजनिक गरिएको छैन ।

अर्कोतर्फ, यमनका इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागरमा साउदी अरेबियाका दुई वटा तेल ट्यांकरलाई निशाना बनाएको दावी गरेका हुन् । यी घटनाले सम्पूर्ण पश्चिम एशियामा द्वन्द्व अझ फैलिन सक्ने आशंका बढाएको छ । यसको प्रत्यक्ष असर अन्तर्राष्ट्रिय बजारमा पनि देखिएको हाे। ब्रेन्ट क्रुड तेलको मूल्य प्रतिब्यारेल १ सय अमेरिकी डलर नाघेको छ ।

यसैबीच, हुथी विद्रोहीहरूले अर्को महत्त्वपूर्ण समुद्री व्यापारिक मार्ग पनि अवरुद्ध गर्न सक्ने चेतावनी दिएका हुन् । उनीहरूको दावी अनुसार इरानले होर्मुज जलमार्ग बन्द गरिसकेको छ। जसका कारण विश्वव्यापी व्यापार र ऊर्जा आपूर्तिमा असर परेको हाे । सामान्य अवस्थामा विश्वको करिब २० प्रतिशत तेल तथा ग्यास यही समुद्री मार्गबाट ओसारपसार हुने गर्छ । त्यसैले धेरै देश वैकल्पिक समुद्री मार्गको खोजीमा लागेका हुन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जहाजहरूमाथिको आक्रमण जारी रहे हुथी विद्रोहीहरूले कडा सैन्य सजाय भोग्नुपर्ने चेतावनी दिनुभएकाे छ। उहाँले सामाजिक सञ्जालमार्फत भविष्यमा यस्ता आक्रमण दोहोरिए त्यसका लागि अमेरिकाले इरानलाई नै प्रत्यक्ष जिम्मेवार ठहर गर्ने बताएका हुन् । हुथी समूह इरानको समर्थनमा सञ्चालन भइरहेको र दुवैले यसको गम्भीर सैन्य परिणाम भोग्नुपर्ने उहाँकाे भनाइ छ।

बढ्दो तनावको प्रत्यक्ष प्रभाव अन्तर्राष्ट्रिय ऊर्जा बजारमा देखिएको छ । ब्रेन्ट क्रुड तेलको मूल्य बिहीबार ६ प्रतिशत भन्दा बढीले बढेर प्रतिब्यारेल १ सय अमेरिकी डलर नाघेको छ । यो मे महिनामा भएको अस्थायी शान्ति सम्झौतापछिकै उच्च स्तर हो । विश्लेषकहरूले हर्मुज जलमार्ग र अन्य प्रमुख समुद्री मार्ग लामो समयसम्म अवरुद्ध भए विश्वव्यापी ऊर्जा आपूर्ति प्रभावित हुने बताएका हुन् ।

महँगी बढ्ने र अन्तर्राष्ट्रिय अर्थतन्त्रमा थप दबाब पर्ने सम्भावना रहेको छ ।