Logo ७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026


अदालतबाट कैद सजाय तोकिएपछि फरार ४४ जना प्रतिवादी प्रहरीकाे नियन्त्रणमा


13
Shares

काठमाडाैं । जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका ४४ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

कार्यालयले बुधबार एकै दिन विभिन्न स्थानबाट ४४ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको हो । पक्राउ परेका प्रतिवादीलाई खोजतलासका क्रममा जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी एकाइले नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि धनुषा जिल्ला अदालतमा उपस्थित गराइएकाे छ । पक्राउ परेकामध्ये सबै भन्दा बढी लागूऔषध सम्बन्धी मुद्दाका प्रतिवादी रहेका हुन् ।

त्यस्तै, चोरी, मोटरसाइकल चोरी, बहुविवाह, सवारी ज्यान, कर्तव्य ज्यान, अपहरण तथा शरीर बन्धक, लुटपाट, कुटपिट, गाली बेइज्जती र सवारी अङ्गभङ्ग लगायत विभिन्न मुद्दाका फरार प्रतिवादी पनि पक्राउ परेको प्रहरीले जनाएकाे छ। पक्राउ परेका अदालतबाट छ दिनदेखि चार वर्षसम्म कैद सजाय तथा ५ सय देखि १ लाख ५० हजारसम्म जरिवाना तोकिएको थियो ।

अदालतको फैसला कार्यान्वयन अभियान अन्तर्गत फरार प्रतिवादीलाई निरन्तर खोजी गरी पक्राउ गर्ने अभियान जारी रहेको प्रहरी कार्यालयले जनाएको छ । अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन फरार प्रतिवादीको खोजी तथा पक्राउ अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रहरीले बताउनुभयाे ।