Logo ६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026


काठमाडौं महानगरको प्रशासनिक भवन निर्माणको भौतिक प्रगति ३५ प्रतिशत सम्पन्न

तोकिएकै समयमा निर्माण सम्पन्न गर्न कम्पनीलाई कार्यवाहक प्रमुख डंगोलकाे निर्देशन

26
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको नयाँ प्रशासनिक भवन निर्माणको काम ३५ प्रतिशत सकिएको छ।

महानगरको टेकुमा निर्माणाधीन उक्त भवनको निर्माण शुरु भएको छोटो अवधिमा नै उलेख्य प्रगति भएको हो । भवन निर्माण शुरु भएको ९४ दिनमा नै ३५ प्रतिशत भौतिक र ३० प्रतिशत वित्तीय प्रगति भएको भवन निर्माण परियोजनाका प्रोजेक्ट डाइरेक्टर महेश भट्टले जानकारी दिनुभयो । उहाँले गत चैत २२ गतेदेखि भवन निर्माणको कार्य शुरु भएको बताउनुभएकाे छ। हाल बेसमेन्ट निर्माण सम्पन्न भएर बेसमेन्टको कभर स्ल्याब ढलानको तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

भवनको संरचना निर्माण कार्य तिब्र गतिमा अघि बढाइएकोले तोकिएको समय अगाडी नै निर्माण सक्ने लक्ष्य राखिएको उहाँले जानकारी दिनुभएकाे छ। आगामी कार्तिक २२ गतेभित्र भवन निर्माण गरिसक्नुपर्ने सम्झौता रहेको उहाँले बताउनुभयो । उहाँकाअनुसार हाल निर्माणस्थलमा ७० जना दक्ष तथा अदक्ष कामदार खटिएका छन् । साथै, प्रोजेक्ट म्यानेजर, साइट सुपरभाइजरलगायत १० जना प्राविधिक जनशक्ति परिचालन गरिएको हाे । निर्माणस्थलमा आवश्यक सबै सुरक्षा मापदण्ड र सेफ्टी प्रोटोकल पालना गर्दै काम भइरहेको उहाँले बताउनुभएकाे छ ।

महानगरको करिब ६ रोपनीको जग्गामा आठ तले प्रशासनिक भवन निर्माण हुने भएकाे हाे । उक्त निर्माणाधिण भवनको बुधबार काठमाडौ महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले स्थलगत अनुगमन समेत गर्नुभएको छ । उहाँले तोकिएकै समयमा निर्माण सम्पन्न गर्नेगरी काम गर्न निर्माण कम्पनीलाई निर्देशन समेत दिनुभयो ।