काठमाडाैं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिदेशीय शृङ्खलाको पहिलो खेलमा नेपाल नामिबियासँग ८ विकेटले पराजित भएको छ ।
मंगलबार राति सम्पन्न भएकाे खेलमा नेपालले दिएको १ सय ५८ रनको सामान्य लक्ष्य नामिबियाले ३७ ओभर ३ बलमा २ विकेट गुमाएर भेटाएकाे हाे । नामिबियाको जितमा जान फ्राइलिंकले अविजित ७७ रन बनाए भने माइकल भान लिङ्गेनले ५१ रन बनाएका थिए ।
नेपालका लागि नन्दन यादव र कप्तान रोहित पौडेलले एक-एक विकेट लिएका हुन् । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४६ ओभर ५ बलमा १ सय ५७ रनमा अलआउट भएको थियो । कप्तान रोहित पौडेलले सर्वाधिक ३१ रन बनाए भने दीपेन्द्रसिंह ऐरीले ३० रन जोडेका छन् । नेपाललाई सस्तैमा समेट्न नामिबियाका जेजे स्मिथले उत्कृष्ट बलिङ गर्दै ६ विकेट लिएका थिए ।
यो नतिजापछि लिग–२ अंकतालिकामा नेपाल र नामिबिया दुवैको २९ खेलबाट समान २४ अंक पुगेको हाे । राम्रो नेट रनरेटका आधारमा नेपाल पाँचौं र नामिबिया छैठाैं स्थानमा छन् । नेपालले आफ्नो दोस्रो खेल बिहिबार घरेलु टोली नेदरल्यान्ड्ससँग सामना गर्ने भएकाे हाे ।









प्रतिक्रिया दिनुहोस्