काठमाडाैं । काठमाडौँमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न नपाएको भन्दै एक युवकले शितलनिवास अगाडि आत्मदाहको प्रयास गरेका छन्।
प्रहरीका अनुसार रामेछापको दोरम्बा गाउँपालिका–१ निवासी २७ वर्षीय विशाल तामाङले मंगलबार ‘आत्मदाह गर्छु’ भन्दै शरीरमा पेट्रोल खन्याउन खोजेपछि सुरक्षाकर्मीले तत्काल नियन्त्रणमा लिएका थिए। उनको साथबाट पेट्रोलसमेत बरामद गरिएको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार तामाङलाई शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण गराई काउन्सेलिङपछि रिहा गरिएको छ। उनी बालाजुस्थित एक बेकरी उद्योगमा कार्यरत थिए र जोरपाटीमा बस्दै आएका थिए।
प्रहरी अनुसन्धानका अनुसार तामाङले जोरपाटीस्थित लामा पम्पबाट पेट्रोल खरिद गरेका थिए। उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पाँच पटकसम्म भेट्ने प्रयास गरे पनि सफल नभएपछि निराश भएर आत्मदाहको प्रयास गरेको बयान दिएका छन्। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।









प्रतिक्रिया दिनुहोस्