Logo ५ श्रावण २०८३, मंगलबार | Tue Jul 21 2026


प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीविरूद्ध मात्रै उजुरी

प्रस्तावित व्यक्तिको सुनुवाई साउन १२ र १३ गते हुने

26
Shares

काठमाडाैं । प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीविरुद्ध एउटा उजुरी परेको छ ।

सिंहदरबारमा मंगलबार बसेको संसदीय सुनुवाई समिति (संयुक्त) ले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित कार्कीविरुद्ध परेको उजुरी खोलेको हो । प्रस्तावित निर्वाचन आयुक्त द्वय गुरुप्रसाद वाग्ले र डा.राजीव सुब्बाविरुद्ध कुनै उजुरी नपरेको समिति सभापति वोधनारायण श्रेष्ठले जानकारी दिनुभयो । उहाँले संवैधानिक व्यवस्था अनुसार सार्वजनिक सूचना जारी गरी १० दिनभित्र उजुरी मागिएकोमा प्रमुख निर्वाचन आयुक्तका प्रस्तावित कार्कीविरुद्ध एउटा मात्र उजुरी प्राप्त भएको समेत बताउनुभएकाे छ।

समितिलाई सुनुवाई प्रक्रियासम्बन्धी एउटा सुझाव पनि प्राप्त भएको उहाँले जानकारी दिनुभयो । समितिले संसदीय सुनुवाई समितिको कार्यविधि, २०८३ को दफा १६ बमोजिम कार्कीविरुद्ध प्राप्त उजुरी खोल्ने प्रश्ताव अनुमोदन गर्दै उजुरी सदस्यहरूलाई वितरण गरेको छ । सभापति श्रेष्ठले पाल्पाको तानसेन–९ निवासी भेषराज भुइँटेलले कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा अनुमोदन नगर्न, सिफारिस अस्वीकृत गर्न तथा विस्तृत छानबिन गर्न माग गर्दै उजुरी दर्ता गराउनुभयाे। उजुरीकर्ताले आफ्नो परिचय गोप्य नराख्न आग्रह नगरेको सभापति श्रेष्ठले बताउनुभएकाे छ ।

त्यसैगरी, ललितपुरका उज्वलकृष्ण श्रेष्ठले सुनुवाई प्रक्रियामा बहुमत–अल्पमतको सट्टा गोलाप्रथाबाट निर्णय गर्न सुझाव दिएको उहाँले बताउनुभयो । प्रस्तावित पदका लागि आवश्यक संख्याअनुसार मात्रै नाम सिफारिस भएकाले गोलाप्रथाको प्रश्ताव सान्दर्भिक नभएको उहाँले बताउनुभएकाे छ। समितिले प्राप्त उजुरीमाथि छलफल, आवश्यक परे उजुरीकर्तालाई उपस्थित गराउने, प्रस्तावित व्यक्तिहरूसँग छलफल गर्ने भएकाे हाे ।

साथै प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका तीनै प्रस्तावित व्यक्तिको सुनुवाईका लागि यहि साउन १२ र १३ गतेको समय निर्धारण गरेको छ । सभापति श्रेष्ठले साउन १२ गते दुई जना आयुक्त र १३ गते प्रमुख आयुक्तको सुनुवाई गर्ने कार्यतालिका तय गरिएको बताउनुभयाे । गत असार १९ गते बसेको संवैधानिक परिषद्को बैठकले आयोगको प्रमुख आयुक्तमा कार्की र आयुक्तहरुमा वाग्ले र सुब्बाको नाम सुनुवाईको लागि प्रश्ताव गरेको थियो ।