काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री र मन्त्रीहरु राजनीतिक दल र नेतृत्वप्रति उत्तरदायी हुनुपर्ने बताउनुभएको छ ।
आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन योजनाका सम्बन्धमा सबै मन्त्रालयका सचिवहरूसँगको छलफलमा बोल्दै अर्थमन्त्री वाग्लेले यस्ताे बताउनुभएकाे हाे । उहाँले प्रधानमन्त्रीदेखि विभागीय मन्त्रीहरूसम्म सबै नेपाली जनता, राजनीतिक दल र सम्बन्धित नेतृत्वप्रति उत्तरदायी हुनुपर्नेमा जाेड दिनुभएकाे छ।
शासन कायम गर्न र भ्रष्टाचार नियन्त्रणका सवालमा सरकारले ‘शून्य सहनशीलता’को नीति अङ्गीकार गरेको बताउनुभयो । राज्य सञ्चालनमा जवाफदेहिता र पारदर्शीता अनिवार्य रहेको उहाँको भनाइ छ । अर्थमन्त्री वाग्लेले मुलुकमा सुशासनको स्पष्ट सोच अघि सारिएको र यसमा कुनैपनि प्रकारको सम्झौता नगरिने स्पष्ट पार्नुभयो ।
विगतका विकृति र विसङ्गतिहरूलाई त्याग्दै कर्मचारीतन्त्रमा सुधार ल्याउनुपर्नेमा उहाँले जोड दिनुभएकाे छ। अर्थमन्त्री वाग्लेले कर्मचारीहरूको कार्यक्षमता र सामथ्र्यका आधारमा उनीहरूलाई थप प्रोत्साहित गर्ने सरकारको योजना रहेको बताउनुभयो ।
अर्थमन्त्री वाग्लेले बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन र शासकीय सुधारका लक्ष्यहरू हासिल गर्न सबै मन्त्रालयका सचिवहरूलाई निर्देशन दिनुभएकाे छ। उहाँले राजनीतिक नेतृत्व र कर्मचारीतन्त्र दुवैले आ–आफ्नो जिम्मेवारी र नैतिकतालाई केन्द्रमा राख्नुपर्ने बताउनुभयो ।









प्रतिक्रिया दिनुहोस्