Logo ५ श्रावण २०८३, मंगलबार | Tue Jul 21 2026


क्यानाडाबाट आयात हुने सामानमाथि ५० प्रतिशत अतिरिक्त भन्सार महशुल लगाउने राष्ट्रपति ट्रम्पकाे घोषणा

याे घोषणासँगै दुई देशबीचको व्यापारिक तनाव नयाँ उत्कर्षमा

39
Shares

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आयात हुने विभिन्न सामानहरूको आयातमा ५० प्रतिशत अतिरिक्त भन्सार महसुल लगाउने घोषणा गर्नुभएको छ ।

क्यानाडाले अमेरिकी गाडी, दुग्धजन्य पदार्थ र मदिरामाथि असमान र विभेदकारी व्यवहार गरेको भन्दै बदलास्वरूप यो कदम चालिएको ह्वाइट हाउसले जनाएको हाे । यो नयाँ व्यवस्था आगामी ३० दिनभित्र लागू हुनेछ । यो निर्णयले दुई देशबीचको व्यापारिक तनावलाई नयाँ उचाईमा पुर्‍याएको छ । यस भन्सार महसुलको दायरामा मदिरा र हक्की स्टिक जस्ता दैनिक उपभोग्य वस्तुदेखि व्यावसायिक सिमेन्ट जस्ता औद्योगिक सामग्रीहरू परेका हुन् ।

यद्यपि, ऊर्जा, पोटास, खनिज र माछा जस्ता मुख्य निर्यातजन्य वस्तुहरूलाई भने यस महसुलबाट छुट दिइएको छ । नयाँ भन्सार नीति अमेरिका, क्यानडा र मेक्सिकोबीचको स्वतन्त्र व्यापार सम्झौताअन्तर्गत परेका सामानहरूमा पनि लागू हुने भएकाे हाे । यसअघि पनि अमेरिकाले क्यानाडाको स्टिल र आल्मुनियममा १५ देखि ५० प्रतिशतसम्म र क्यानाडाले अमेरिकी सामानमा २५ प्रतिशत काउन्टर–ट्यारिफ लगाउँदै आएका थिए ।