Logo ५ श्रावण २०८३, मंगलबार | Tue Jul 21 2026


मन्त्रालयको संख्या घटाएसँगै कर्मचारी दरबन्दी मिलान र संगठन संरचना व्यवस्थापनको काम अघि बढाएकाे सरकारकाे स्पष्टाेक्ति (विज्ञप्तिसहित)

नयाँ स्वीकृत दरबन्दीको रिक्त पदमा पदपूर्ति गर्नुपर्ने अवस्था आएकाे खण्डमा लोक सेवा आयोगमा माग गरिने

13
Shares

काठमाडौं । सरकारले प्रशासनिक सुधारमार्फत मन्त्रालयको संख्या घटाएसँगै कर्मचारी दरबन्दी मिलान र संगठन संरचना व्यवस्थापनको काम अघि बढाइएको स्पष्ट पारेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले साविकका २२ वटा मन्त्रालयको संख्या घटाएर १८ कायम गरिएको र सोही बमोजिम कर्मचारी व्यवस्थापनको काम अन्तिम चरणमा रहेको जनाएको हाे । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता हेमराज अर्यालद्वारा जारी विज्ञप्तिमा नवगठित तथा गाभिएका मन्त्रालय र मातहतका निकायको संगठन संरचना र कर्मचारी दरबन्दी निश्चित गर्न ‘संगठन तथा व्यवस्थापन सर्वेक्षण भइरहेको उल्लेख छ ।

त्यस्तो सर्वेक्षण सम्पन्न भएपछि हाल कायम रहेका कतिपय दरबन्दी घटनसक्ने र केही कर्मचारी दरबन्दीभन्दा बढी भई ‘फाजिल’मा पर्नसक्ने जारी विज्ञप्तिमा भनिएकाे हाे । फाजिलमा पर्ने कर्मचारीको व्यवस्थापन र दरबन्दी मिलानलाई ध्यानमा राखेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको स्वीकृति बिना स्थायी पदपूर्तिका लागि लोक सेवा आयोगमा माग नगर्ने भनी साेमबारको सचिव बैठकबाट निर्णय भएको थियो ।

फाजिलमा रहेका कर्मचारीको व्यवस्थापन भइसकेपछि कुनै पद रिक्त भएको वा सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणबाट कायम भएका नयाँ स्वीकृत दरबन्दीको रिक्त पदमा पदपूर्ति गर्नुपर्ने अवस्था आएकाे खण्डमा त्यस्ता पदमा स्थायी पदपूर्तिका लागि नियमित रुपमा लोक सेवा आयोगमा माग गरिने जारी विज्ञप्तिमा उल्लेख गरिएकाे छ।