एजेन्सी। एन्डी बर्नहम बेलायतको ५९औं प्रधानमन्त्रीमा नियुक्त हुनुभएकाे छ।
बकिंघम प्यालेसमा साेमबार भएको निजी भेटवार्ताका क्रममा राजा चार्ल्स तृतीयले उहाँलाई नयाँ सरकार गठन गर्न औपचारिक रूपमा आमन्त्रण गर्नुभएकाे हाे। निवर्तमान प्रधानमन्त्री किएर स्टारमरले आफ्नो औपचारिक राजीनामा बुझाएर दरबारबाट बाहिरिए लगत्तै बर्नहम बकिंघम प्यालेस पुग्नुभएकाे थियाे ।
बकिंघम प्यालेसद्वारा जारी विज्ञप्तिमा “हिज म्याजेस्टी द किङले माननीय सांसद एन्डी बर्नहमलाई दर्शन भेट दिनुभयो र उहाँलाई नयाँ प्रशासन गठन गर्न अनुरोध गर्नुभयो । माननीय एन्डी बर्नहमले राजाको प्रस्ताव स्वीकार गर्नुभयो र प्रधानमन्त्री तथा फर्स्ट लर्ड अफ द ट्रेजरीका रूपमा नियुक्त भएपछि परम्पराअनुसार हातमा चुम्बन गर्ने कार्य सम्पन्न गर्नुभएकाे भनिएकाे छ।’
बकिंघम प्यालेसबाट सिधै टेन डाउनिङ स्ट्रिट पुगेका प्रधानमन्त्री बर्नहमले आफ्नो पहिलो सम्बोधनमा नियुक्तिलाई आत्मसमीक्षा र नयाँ संकल्पको क्षणका रूपमा वर्णन गर्नुभयाे । उहाँले आफ्नो पुस्ताका राजनीतिज्ञहरूले जनविश्वास पुनः स्थापित गर्न नयाँ ढंगले काम गर्नुपर्ने आवश्यकता औंल्याउनुभएकाे छ । उहाँले बेलायत अहिले सर्किट ब्रेकर अर्थात् पुरानो राजनीतिक शैली तोड्ने मोडमा पुगेको बताउनुभयाे। उहाँले विगतका केही आर्थिक तथा औद्योगिक नीतिका कमजोरीबाट पाठ सिक्दै अब सहयोग, समाधान र जनउत्तरदायित्वमा आधारित राजनीति अघि बढाइने समेत उल्लेख गर्नुभएकाे छ।
प्रधानमन्त्री बर्नहमले वेस्टमिन्स्टरबाट अधिकार स्थानीय तहसम्म हस्तान्तरण गर्दै देशका सबै क्षेत्रलाई निर्णय प्रक्रियामा थप अधिकार दिने प्रतिबद्धता जनाउनुभयाे । उहाँले आधारभूत सार्वजनिक सेवाहरूलाई थप सुदृढ बनाउने, बेलायती उद्योगलाई प्रोत्साहन गर्ने तथा पुनःऔद्योगिकीकरणलाई प्राथमिकता दिने आर्थिक योजना अघि सार्ने घोषणा समेत गर्नुभएकाे छ । उहाँले यसै वर्षभित्र बेलायतका लागि १० वर्षे दीर्घकालीन विकास योजना सार्वजनिक गर्ने जानकारी गराउनुभयाे ।
प्रधानमन्त्री बर्नहमले महँगीबाट जनतालाई राहत दिने तत्कालीन कार्यक्रम र त्यसका लागि आवश्यक बजेट व्यवस्थापनको खाका पनि सार्वजनिक गरिने बताउनुभएकाे छ । उहाँले थप सरकारी आवास निर्माण गर्ने, शिक्षा प्रणाली सुधार गर्ने, युवाहरूलाई रोजगारी तथा मानसिक स्वास्थ्य सम्बन्धी सहयोग उपलब्ध गराउने र सडकमा बस्नुपर्ने बाध्यता अन्त्य गर्ने आफ्नो पहिलो प्राथमिकतामध्ये एक हुने समेत बताउनुभयाे।









प्रतिक्रिया दिनुहोस्