Logo ५ श्रावण २०८३, मंगलबार | Tue Jul 21 2026


वीपी स्मृति दिवसमा काँग्रेसले जलवायु जनचेतना अभियान सञ्चालन गर्नेः ‘ग्रिन रन’ देखि नवीन अभियानको घोषणासम्म


39
Shares

काठमाडाैं । नेपाली काँग्रेसले वीपी कोईरालाको ४२ औँ स्मृति दिवसमा साउन ६ र ७ गते देशभर विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ ।

यस वर्षको स्मृति दिवसलाई मुख्य रूपमा जलवायु परिवर्तन र वातावरणीय जनचेतनासँग जोडेर ‘जलवायु जनचेतना जगाउन जुटौँ’ भन्ने नाराका साथ मनाउन लागिएको हो ।

सोमवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उपसभापति विश्वप्रकाश शर्माले वीपी कोईरालाले प्रधानमन्त्री रहँदा वनको राष्ट्रियकरण गर्ने ऐतिहासिक निर्णय गरेको र पार्टीको चुनाव चिह्न ‘रुख’ छनोट गर्नुले उहाँको वातावरणीय दूरदर्शिता झल्काउने बताउनुभयो ।

सोही विरासतलाई आत्मसात गर्दै विश्वव्यापी जलवायु संकटको समयमा हिमाल र पृथ्वीको रक्षाका लागि यो अभियान शुरु गरिएको उहाँले स्पष्ट पार्नुभयो । साउन ६ गते बिहान ६ बजे ललितपुरको युएन पार्कबाट ‘ग्रिन रन’ (दौड) आयोजना गरिने जानकारी दिनुभाये । यस अन्तर्गत प्रतिष्पर्धीहरूका लागि युएन पार्कदेखि जावलाखेलसम्म ५ किलोमिटर र अप्रतिष्पर्धीहरूका लागि २.५ किलोमिटरको रुट तय गरिएको छ । यस दौडमा सहभागी हुन इच्छुकले साउन ४ गते मध्यरातसम्म अनलाइनमार्फत नाम दर्ता गर्न सक्नेछन् ।

यस दौडको विशेष उद्देश्य मानवीय सहयोग पनि रहेको उपसभापति शर्माले बताउनु भयो । सहभागी संख्याका आधारमा पार्टीले निश्चित रकम जम्मा गरी एउटा ‘मानवीय सहयोग कोष’ निर्माण गर्नेछ । उक्त कोषको रकम वर्षाका कारण विस्थापित भएका सुकुम्बासी बस्तीका बालबालिका र ज्येष्ठ नागरिकको हितमा खर्च गरिने उपसभापति शर्माले जानकारी दिनुभयो ।

दौडमा विजयी हुनेहरूका लागि नगद पुरस्कार, ट्रफी र मेडलको व्यवस्था गरिएको छ । सोही दिन जावलाखेलमा ‘ग्रिन टेबल’ संवाद आयोजना गरिनेछ, जहाँ जलवायु परिवर्तन, प्रकृति, लोकतन्त्र र भावी पुस्ताका विषयमा विज्ञहरूसँग प्यानल छलफल हुनेछ । कार्यक्रम स्थलमा २० जना ख्यातिप्राप्त चित्रकारहरूले जलवायु परिवर्तनको असर झल्काउने ‘लाइभ पेन्टिङ’ समेत गर्नेछन् । सहभागीहरूलाई पार्टीको तर्फबाट उपहारस्वरूप बिरुवा वितरण गरिने बताउनुभयो ।

साउन ७ गते राष्ट्रिय सभागृहमा अपरान्ह २ बजे ‘नवीन परिस्थिति, नवीन संकल्प, नवीन अभियान’ विषयक विचार गोष्ठी आयोजना गरिने बताउनु भयो । सोही अवसरमा सभापति गगन थापाले एक नयाँ अभियानको घोषणा गर्ने कार्यक्रम रहेको पनि जानकारी दिनुभयो ।

नेपाली काँग्रेसले यो अभियानलाई केवल राजनीतिक कार्यक्रममा मात्र सिमित नराखी पृथ्वी र हिमाल जोगाउने साझा एजेण्डाका रूपमा अघि बढाएको भन्दै अन्य राजनीतिक दल, नागरिक समाज र सञ्चार माध्यमलाई ऐक्यवद्धताका लागि अपिल समेत गरेको छ ।