Logo ५ श्रावण २०८३, मंगलबार | Tue Jul 21 2026


पुँजीबजार सुधार गर्न लगानीकर्ताका जायज माग कार्यान्वयन गर्ने प्रधानमन्त्रीको आश्वासन


208
Shares

काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र साहले लगानीकर्ताको जायज मागहरु सम्बोधन गरी पुँजीबजार सुधार गर्ने आश्वासन दिनुभएको छ ।

सोमवार पुँजी बजारका नियामक निकाय, ब्रोकर र लगानीकर्ताका प्रतिनिधिहरूसँग छलफल गर्दै प्रधानमन्त्री साहले लगानीकर्ताको जायज माग सम्बोधन गर्न सरकार तयार रहेको बताउनुभएको हो ।

सरकारले पुँजीबजार सुधारका लागि उठाइएका जायज माग कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएको प्रधानमन्त्री साहसँगको भेटपछि स्टक ब्रोकर एशोसिएशन अफ नेपालका पूर्वअध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको पुँजी बजार फोरमका सभापति प्रियराज रेग्मीले जानकारी दिनुभयो ।

उहाँकाअनुसार प्रधानमन्त्री साहसँग बजारलाई सन्तुलित बनाउन संस्थागत लगानीकर्ताको भुमिका विस्तार, कर प्रणालीमा सुधार, ब्रोकरमार्फत मार्जिन लेन्डिङ सञ्चालनका लागि आवश्यक नियामकीय व्यवस्था, गैरआवासीय नेपाली (एनआरएन)लाई छिटो पुँजीबजारमा प्रवेश गराउने व्यवस्था तथा स्टक एक्सचेन्जको पुनर्संरचना गरी प्रविधिमैत्री बनाउने विषयमा छलफल भएको थियो ।

आईपीओ प्रणालीमा सुधार गर्दै १० कित्ते नीति हटाएर योग्य संस्थागत लगानीकर्तामार्फत बुक बिल्डिङ प्रक्रियालाई प्राथमिकता दिनुपर्ने, इन्ट्राडे कारोबार शुरु गरी बजारको तरलता र कारोबार परिमाण बढाउनुपर्ने लगायतको माग आफूहरुले राखेको उहाँले जानकारी दिनुभयो । लगानीकर्ताको घाटा समायोजनको व्यवस्था गरेर मात्रै शेयर बजारमा कर लगाउने प्रणाली लागू गर्न पनि आग्रह गरेको बताउनुभयो ।

पूर्वअध्यक्ष रेग्मीकाअनुसार प्रधानमन्त्री साहले यी सबै विषय गम्भीरतापूर्वक लिनुभएको छ । नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, स्टक एक्सचेन्ज, सीडीएसलगायत नियामक तथा बजार सञ्चालक निकायसँग छलफल गरेर आवश्यक सुधार गर्ने प्रतिवद्धता प्रधानमन्त्री साहले जनाउनुभएको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले बजारलाई चलायमान र सन्तुलित बनाउन आवश्यक विभिन्न विषयहरू सम्माननीय प्रधानमन्त्रीसमक्ष राख्यौं । अहिले बजारमा सप्लाई साइड केही बढेको अवस्था भएकाले त्यसअनुसार डिमाण्ड साइड पनि बढाएर बजारलाई सन्तुलित बनाउने नीति आवश्यक रहेको कुरा उठायौं । साथै, संस्थागत लगानीकर्ताको भुमिका थप सशक्त बनाउनुपर्नेमा जोड दियौं । हालै बढाइएको पुँजीगत लाभकरका सम्बन्धमा पनि हामीले धारणा राख्यौं । कर बढाएपनि घाटा समायोजन गरेपछि मात्रै कर लाग्ने व्यवस्था हुनुपर्ने सुझाव प्रश्तुत ग¥यौं । त्यसैगरी, राष्ट्र बैंकले ब्रोकरहरूमार्फत मार्जिन लेन्डिङ सञ्चालन गर्न आवश्यक नियामकीय व्यवस्था गर्नुपर्ने, एनआरएन लगानीलाई फास्ट ट्रयाकमार्फत बजारमा भित्र्याउने वातावरण बनाउनुपर्ने, तथा स्टक एक्सचेन्जको पुनर्संरचना गरी प्रविधिमैत्री र प्रतिष्पर्धी बनाउनुपर्ने विषय पनि उठायौं । उच्च दक्षता भएका जनशक्ति आकर्षित गर्न सकिने वातावरण निर्माण गर्ने, साथै नयाँ–नयाँ कारोबारका औजार विकास गर्नुपर्नेमा पनि जोड दियौं । धितोपत्र बोर्डले आईपीओ प्रणालीमा सुधार गर्नुपर्ने आवश्यकता पनि औँल्यायौं । हालको १० कित्ते नीतिलगायतका व्यवस्थामा पुनरावलोकन गर्दै बजारलाई अझ स्वस्थ र प्रतिष्पर्धी बनाउन क्वालिफाइड इन्स्टिच्युसनल इन्भेस्टरमार्फत बुक बिल्डिङ प्रक्रियाबाट आईपीओ जारी गर्ने व्यवस्था लागू गर्नुपर्ने सुझाव राख्यौं । यसका साथै, इन्ट्राडे कारोबार सञ्चालन गरेर बजारमा लगानीकर्ताको मनोबल बढाउने र कारोबारको भोल्युम बढाउनुपर्ने विषय पनि प्रश्तुत ग¥यौं । सम्माननीय प्रधानमन्त्रीज्यूले हाम्रो सुझावलाई ध्यानपूर्वक सुन्नुभयो । उहाँले हामीले उठाएका सुधारका विषयमा सरकारको पनि काम गरिरहेको छौँ, फेरि नियामक निकायका प्रमुखहरू र बजारका सरोकारवालासँग थप छलफल गरेर यी विषयलाई कार्यान्वयनमा लैजान्छौँ, तपाईंहरुका जायज मागहरूलाई हामी कार्यान्वयनको लैजान्छौँ भनेर प्रधानमन्त्रीज्युले भन्नुभयो ।’

नियामक निकायका प्रमुखहरूले पनि छलफलमा पुँजी बजारमा सुधार आवश्यक रहेको विषयमा सहमति जनाएकोले आफूहरुको माग सम्बोधन हुनेमा आशावादी रहेको पूर्वअध्यक्ष रेग्मीले बताउनुभयो । प्रधानमन्त्री साहले लगानीकर्तालाई अनावश्यक त्रासमा नपरी ढुक्क भएर लगानीका गतिविधि अघि बढाउन आग्रह गरेको उहाँले जानकारी दिनुभयो । प्रधानमन्त्री साहले पुँजी बजारले रोजगारी सिर्जना र राजश्व वृद्धि गर्नुपर्नेमा जोड दिनुभएको थियो । प्रधानमन्त्रीको सक्रियताप्रति आफूहरू उत्साहित रहेको र पुँजीबजारमा देखिएका समस्याहरु समाधान हनेमा विश्वस्त रहेको लगानीकर्ताहरुको भनाई छ ।