Logo २ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026


अमेरिकाद्वारा इरानमा ड्रोन तथा मिसाइल आक्रमण विस्तार


1.1k
Shares

काठमाडौं ।
अमेरिका र इरानबिच युद्धविराम भङ्ग भई युद्धमा फर्किएपछि दुवै देशले आक्रमणलाई तीव्र पारेका छन् ।

तेहरानले खाडी क्षेत्रभरि अमेरिकी सम्पत्तिहरूलाई लक्षित गर्दै आक्रमण गर्दा अमेरिकाले पनि ड्रोन तथा मिसाइल आक्रमणलाई निरन्तरता दिएको हो ।

यो दुई देशबिचको युद्धविराम भङ्ग भई युद्धमा फर्किएपछि भएको सबैभन्दा ठुलो तनाव हो । दुई पक्षबिच द्वन्द्व अन्त्य गर्न समझदारी भएको एक महिनापछि अमेरिकी सेनाले इरानी विमानस्थल, रेलवे स्टेसन र दुई वटा पुलसहित नागरिक पूर्वाधारमा आक्रमण गरेको आरोप इरानले लगाएको छ ।

इरानी सञ्चारमाध्यमका अनुसार अमेरिकी आक्रमणबाट इरानतर्फ कम्तीमा आठ जनाको मृत्यु भएको र २० जना घाइते भएका छन् । घटनाले इरानी पूर्वाधारमा केन्द्रित अमेरिकी आक्रमणको विस्तारको सङ्केत गरेको छ । गत फेब्रुअरी २८ मा अमेरिका–इजरायलको व्यापक संयुक्त आक्रमणबाट सुरु युद्धपछि इरानले जवाफमा हर्मुज जलडमरूमध्यलाई प्रभावकारी रूपमा बन्द गरेको थियो र इजरायल तथा खाडी क्षेत्रमा अमेरिकी हितमा आक्रमण गरेको थियो ।

यो आक्रमण गत महिना अमेरिकासँग युद्ध रोक्ने समझदारी भएयता दुवैतर्फबाट भएको सबैभन्दा भीषण हवाई आक्रमण हो । इरानको ऊर्जा मन्त्रालयले ऊर्जा सुविधामा अमेरिकी आक्रमणका कारण विद्युत् ग्रिड प्रभावित भएको बताउँदै केही क्षेत्रमा तापक्रम अत्यधिक बढिरहेको बेला पनि नागरिकहरूलाई विद्युत् खपत घटाउन र अत्यधिक विद्युत्को खपत हुने समयमा एयर कन्डिसनर बन्द राख्न आह्वान गरेको छ ।